एनपिएलमा म्याच फिक्सिङको प्रस्ताव : फिक्सिङ गर्न सट्टेबाज भारतदेखि काठमाडौंमा

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा म्याच फिक्सिङ गर्न सट्टेबाज भारतदेखि आएको खुलेको छ । म्याच फिक्सिङका लागि प्रस्ताव गर्नेक्रममा दुई सट्टेबाज पक्राउ परेपछि यो तथ्य खुलेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले म्याच फिक्सिङका लागि काठमाडौं आएका २८ वर्षीय दिलप्रीत सिंह र २४ वर्षीया रेविकासिंह ठकुरीलाई बुधबार लाजिम्पाटबाट पक्राउ गरेको छ । दिलप्रीत भारतको हरियाणा रानीमहल पानीपतका हुन् । ठकुरी बर्दियाको बारबर्दिया नगरपालिका– ८ मगरागढीकी हुन् । ठकुरी अहिले भारतको चन्डिगढ बस्दै आएकी छिन् ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले पक्राउ परेका दुईजना म्याच फिक्सिङ गर्ने उद्देश्यले भारतदेखि आएको खुलेको बताए । ‘एनपिएलमा म्याच फिक्सिङ गर्ने उद्देश्यले दुई सट्टेबाज भारतदेखि आएको देखिन्छ । उनीहरूले म्याच फिक्सिङका लागि खेलाडीलाई प्रस्ताव गरेको, तर खेलाडीले अस्वीकार गरेको देखियो । त्यसो हुँदा उनीहरूले म्याच फिक्सिङ गरिसकेको चाहिँ देखिएन,’ उनले भने ।
प्रहरीका अनुसार उनीहरूले एनपिएलमा सहभागी टिमको एक खेलाडीलाई रनआउट हुन प्रस्ताव गरेका थिए । त्यसबापत एक करोड रुपयाँको प्रस्तावसमेत गरेका थिए । तर, ती खेलाडीले प्रस्ताव अस्वीकार गरेका थिए । सोही सूचनापछि प्रहरी उनीहरूको निगरानीमा थियो । ट्र्याक गर्ने क्रममा उनीहरूको लोकेसन लाजिम्पाट देखिएपछि प्रहरीले पछ्याएको थियो । सोही क्रममा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले खेलाडी र उनी सहभागी टिमको नाम भने खुलाउन चाहेन । ‘यिनीहरूले खेलमा सहभागी टिमको एकजना खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको देखिन्छ । तर, उनीहरूको प्रस्ताव खेलाडीले अस्वीकार गरे । टिम र खेलाडीको नाम भने अहिले नखोलौँ,’ एसपी आचार्यले भने ।
प्रहरीका अनुसार पक्राउ पर्ने दुवैजना सट्टेबाज हुन् । उनीहरूले सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्राम प्रयोग गरी एनपिएलमा सट्टेबाजी लगाउँदै आएका थिए । प्रहरीका अनुसार उनीहरू ३० कात्तिकमा काठमाडौं आएका थिए । उनीहरूले खेलाडीलाई भेटेरै म्याच फिक्सिङको प्रस्ताव गरेका थिए । प्रहरीका अनुसार म्याच फिक्सिङ गर्न अन्य समूह पनि काठमाडौं आएको हुन सक्ने प्रहरीको दाबी छ ।
के हो म्याच फिक्सिङ ?
खेलमा सहभागी खेलाडीसँगको मिलेमतोमा खेल हुनुअघि नै परिणाम निर्धारण गर्ने कार्य म्याच फिक्सिङ हो । जसका लागि ‘बुकी’ले खेलमा सहभागी टिम वा खेलाडीलाई निर्देशन दिन्छ । सोहीअनुसार खेलाडीले परिणाम निकाल्छ । यसका लागि बुकीले खेलका समर्थकसँग ठुलो रकमको बाजी लगाउँछ । र, खेलाडीसँग सोहीअनुसार अनुकूल हुने गरी खेलको परिणाम निकाल्न निर्देशन दिन्छ । यसबापत बुकीले खेलाडीलाई बाजीबाट प्राप्त भएबापतको केही रकम उपलब्ध गराउँछ । र, बाँकी रकम आफू राख्छ । अपराधको यस्तो प्रवृत्ति विशेषगरी क्रिकेट र फुटबलमा धेरै हुने गर्छन् । यसमा अन्तर्राष्ट्रिय आपराधिक गिरोहदेखि टोलेगुन्डासम्म सहभागी हुने गर्छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
