सरकारी अस्पतालमै पाइँदैनन् स्वास्थ्य बिमाका साढे तीन सय प्रकारका औषधि

सरकारी अस्पतालहरूले उपचार गर्न आएका बिरामीलाई विभिन्न बहाना देखाएर बिमाका सबै औषधि दिने गरेका छैनन् । स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनमा यस्तो भेटिएको हो । स्वास्थ्य बिमा बोर्डका अनुसार स्वास्थ्य बिमामा आबद्ध गराउँदा अस्पतालले एक हजार २९८ प्रकारका औषधि राखेकै हुनुपर्छ । तर, ढड्डामा लेखिएकामध्ये साढे तीन सय प्रकारका औषधि फेला परेनन् । मन्त्रालयका अनुसार सात सयदेखि ९५० प्रकारका औषधि मात्रै अस्पतालले राख्ने गरेका छन् ।
दैनिकजसो सफ्टवेयर बिग्रिँदा र बिमामा समेटिएका औषधि नपाउँदा सरकारी अस्पतालमा बिरामी र तिनका आफन्त भौँतारिरहेका हुन्छन् । बिमा सेवा लिँदा दुव्र्यवहार भएको, बिमामा औषधि नपाइएको, सफ्टवेयर नचलेकोलगायत गुनासा सेवाग्राहीले गर्ने गरेका छन् । मुख्यत: अस्पतालले बिमा सेवा सहज पार्न सफ्टवेयर मर्मत नगर्ने र तोकिएजति औषधि फार्मेसीमा नराख्दा बिरामीले हैरानी खेप्ने गरेका हुन् ।

बोर्डले बिमामा आबद्ध गराएपछि उपचार पाटो भने सम्बन्धित अस्पताल र औषधि व्यवस्था विभागसँग जोडिन्छ । विभागले अस्पतालहरूमा आवश्यक औषधि आपूर्ति गर्ने, अस्पतालहरूले बिमाको सेवालाई सहज पार्न व्यवस्थापकीय पक्ष चुस्त बनाउनुपर्ने हो । तर, पछिल्लो समय बिमाका कारण बिरामीहरू हैरान छन् । बिमा सेवा लिन कठिन भएको भन्दै कतिपयले बिमा नै गर्न खोज्दैनन् । बिमा लिएकाले पनि धेरै झन्झट बेहोर्नुपर्दा नवीकरण नगर्ने गरेको पाइन्छ । महँगो औषधि बिमामा अस्पतालमा नपाइने, पटक–पटक सर्भर तथा सफ्टवेयर बिग्रने, बिमाको सेवा लिन घण्टौँ लाइन लाग्नुपर्नेदेखि कर्मचारीको दुव्र्यवहारसमेत सहनुपर्ने बाध्यता सेवाग्राहीलाई छ ।
पाँच महिनाअघि स्वास्थ्य मन्त्रालयले देशभरका संघीय अस्पतालमा बिमा सेवा प्रवाहबारे अनुगमन गरेको थियो । त्यसक्रममा सबै अस्पतालमा बिमाबाट पाइने एक हजार २९८ प्रकारका औषधि भेटिएन । कतिपय अस्पतालले त बिमाको काउन्टरसमेत व्यवस्थित नगरेको पाइएको थियो । यस्तो भद्रगोल अवस्था पाइएपछि मन्त्रालयको टिमले काउन्टर व्यवस्थित गर्न र बिमाका सबै औषधि राख्न निर्देशन दिएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पाँच महिनाअघि अनुगमन हुँदा बिमा सेवामा व्यापक समस्या देखिएको बताए । ‘हामीले सरकारी अस्पतालमा अनुगमन गर्दा धेरैमा बिमाका एक हजार २९८ मध्ये ९५० औषधि मात्रै भेट्यौं । कतिपय अस्पतालमा त सात सय प्रकारका मात्रै औषधि भेटियो,’ उनले भने । बिमाको औषधि बाहिरबाट बिरामीले ल्याउने गरेको देखिएपछि अनुगमन टोलीले बिमाको सबै औषधि राख्न कडा निर्देशन दिए पनि अझैसम्म त्यो समस्या ज्युका त्युँ छ ।
स्वास्थ्य मन्त्रालयले अनुगमन गर्दा वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, चितवन मेडिकल कलेज, भक्तपुर क्यान्सर, सहिद गंगालाल हृदयरोग केन्द्रलगायतमा बिमाको औषधिसमेत पर्याप्त थिएन । यीमध्ये अधिकांश अस्पतालमा सात सयदेखि नौ सय प्रकारका मात्रै औषधि थिए । स्वास्थ्य बिमा बोर्डसँग भने अस्पतालहरूले एक हजार २९८ प्रकारकै औषधि दिने भनेर सम्झौता गर्छन्, तर व्यवहारमा भने लागू छैन । जेनेरिक नाममा समेत पर्ने ती औषधि नदिँदा बिरामी मारमा परेका छन् । ‘त्रिवि शिक्षण अस्पतालमा बुवाको पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने थियो, तर आधाभन्दा बढी औषधि बाहिरी फार्मेसीबाट किन्नुपर्यो,’ स्याङ्जाका कुमार आचार्यले भने, ‘अस्पतालले बाहिरका फार्मेसीमा मात्रै पाइन्छ भनेपछि बाहिर गएर किन्नुपर्यो, सस्तो औषधि राख्ने, तर महँगो औषधि नराख्ने, यस्तो पनि हुन्छ ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
