राष्ट्रिय निर्वाचन

मन्त्रिपरिषद् चौथोपटक विस्तार, थपिए चार मन्त्री

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । नवनियुक्त चारैजना मन्त्रीहरूले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री कार्कीले कुमार इङ्नामलाई भूमि व्यवस्था मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय तथा श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । नयाँ मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।

बिज्ञापन

यस्तो छ मन्त्रीहरूको पृष्ठभूमि
प्रधानमन्त्रीले शुक्रबार नियुक्त गरेका सबै मन्त्री गैर–राजनीतिक पृष्ठभूमिका, आफ्नै क्षेत्रमा दीर्घ अनुभव बोकेका विज्ञहरू हुन् । विषयगत दक्षताका आधारमा गरिएका यी नियुक्तिले मन्त्रालयहरूमा प्राज्ञिक नेतृत्व स्थापित गर्ने संकेत दिन्छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी काठमाडौं स्कुल अफ लका क्याम्पस प्रमुख तथा प्राध्यापक कुमार इङ्नामलाई दिइएको छ । फौजदारी, अन्तर्राष्ट्रिय व्यापार, मध्यस्थता तथा विश्व व्यापार संगठनसम्बन्धी कानुनमा विशेषज्ञता प्राप्त उहाँ २५ वर्षभन्दा बढी समयदेखि कानुन शिक्षणमा संलग्न रहिआउनु भएको छ । २०४६ सालमा इलामको महेन्द्ररत्न क्याम्पसबाट अध्यापन सुरु गर्नुभएका उहाँका दर्जनौँ अनुसन्धान, पुस्तक र शोध प्रकाशित छन् । नेपालसहित विदेशी विश्वविद्यालयहरूमा अतिथि प्राध्यापकका रूपमा सक्रिय उहाँलाई अब भूमि व्यवस्थापन, सहकारी सुधार र सम्पत्ति प्रशासनका चुनौतीपूर्ण जिम्मेवारीहरू बहन गर्नुपर्नेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई दिइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका संस्थापक प्रमुख उहाँ अनुसन्धान सीप, कार्यक्षमता र अनुशासनको उच्च मूल्यांकन प्राप्त अधिकारी मानिनुहुन्छ । प्रहरी सेवाबाट अवकाशपछि सुरक्षा विश्लेषक तथा सुरक्षा विज्ञको रूपमा सक्रिय रहनुभएका उहाँ पछिल्लो समय औषधि व्यवसायमा पनि संलग्न हुनुभएको थियो । अब श्रम बजार व्यवस्थापन, वैदेशिक रोजगार नियमन तथा सामाजिक सुरक्षा प्रणाली सुदृढीकरणमा उहाँको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयको नेतृत्व लेखक तथा अनुसन्धानकर्ता माधव चौलागाईंलाई दिइएको छ । कर्णालीको इतिहास, संस्कृति, समाज र विकासबारे दीर्घ अध्ययन गरेका उहाँ ग्रामीण विकास, जनस्वास्थ्य तथा दुर्गम क्षेत्रका परियोजनामा समेत आबद्ध रहनुभएको छ । कर्णाली उत्सव तथा छलफल अभियानमार्फत प्रदेशको पहिचान, समस्या र विकासका सम्भावनाबारे निरन्तर चर्चा-विमर्श अघि बढाउँदै आएको उहाँका कर्णालीसम्बन्धी पुस्तक र अनुसन्धानहरू उल्लेखनीय छन् । अब वन संरक्षण, प्राकृतिक स्रोत व्यवस्थापन तथा वातावरणीय नीति कार्यान्वयनमा उहाँका अनुभवले योगदान पुर्‍याउनेछ भन्ने विश्वास गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पर्यटन क्षेत्रकी दीर्घ अनुभव सम्पन्न प्रबन्धक श्रद्धा (शारदा) श्रेष्ठलाई दिइएको छ । २४ वर्षभन्दा बढी समय नेपाल पर्यटन बोर्डमा कार्यरत रहनुभएकी उहाँ एशिया–ओसियानिया युनिटको सिनियर म्यानेजर तथा संयुक्त राष्ट्रसंघसँगको संयुक्त ‘दिगो पर्यटन परियोजनाको राष्ट्रिय परियोजना संयोजक पनि रहनुभएको छ । अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकास अध्ययन गरिसक्नु भएकी उहाँ हम्फ्रे फेलोसमेत हुनुहुन्छ । अब महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नीति, कार्यक्रम तथा संरक्षणका विषयमा उहाँले नयाँ दृष्टिकोण दिनसक्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।