अवर्गीकृत

परीक्षामा कम अंक ल्याएको भन्दै शिक्षकले कुटे विद्यार्थी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विद्यालयमा नियमित सञ्चालन गरिने परीक्षामा अनुत्तीर्ण भएको र कम अंक ल्याएको भन्दै बागलुङको एक विद्यालयका शिक्षकले विद्यार्थीलाई निर्घात कुटेका छन्। बरेङ गाउँपालिका–२ मा रहेको पुरुषोद्धय माध्यमिक विद्यालयमा अध्यापन गराउने एक शिक्षकले परीक्षामा कम अंक ल्याउने विद्यार्थीलाई निर्घात कुटपिट गर्नुका साथै यातना दिने गरेको खुलेको छ।

विद्यालयका शिक्षक मिथलेश अधिकारीले १२ कक्षामा पढ्ने विद्यार्थीलाई कुटपिट गरेको घटना बाहिरिएको हो। गत २३ र २४ मंसिरमा अनुत्तीर्ण विद्यार्थीलाई कुटपिट गरेका हुन्। 

बिज्ञापन

पास हुन जति अंक पुग्दैन त्यति लौरा पिटाइ
विद्यार्थीहरूका अनुसार अर्थशास्त्रका शिक्षक अधिकारीले पास हुन जति अंक पुग्दैन त्यति नै लौरो हानेका थिए । ‘कक्षा १२ मा अध्ययन गर्ने १५ जना विद्यार्थी छौँ। तीमध्ये चारजना मात्र पास हुनुभएछ,’ विद्यार्थी तिर्सना परियारले भनिन्, ‘पास नभएका विद्यार्थीलाई जति नम्बर पुगेको छैन, त्यत्ति नै लौरा सरले पिट्नुभयो, मेरो पनि ४ नम्बर नपुदा ४ लौरा पिटाइ खाए। परिवारको डरले कसैलाई भन्न सकेका थिएनौँ, शनिबार नुहाउने क्रममा परिवारमा थाहा भयो, त्यसपछि बल्ल कारण खुलाएकी हुुँ।’ उनले आफू मात्र नभएर विद्यालयका अन्य विद्यार्थीले पनि बारम्बार कुटपिट बेहोर्नुपरेको बताइन्।  

शिक्षक अधिकारीको कुटाइबाट छोरीको पिँडुलामा निलडाम बसेको तिर्सनाका बाबु दीपेन्द्र परियारले बताए। दीपेन्द्रका अनुसार घटना २४ मंसिरको भए पनि गत शनिबार मात्रै थाहा भयो । उनले आफ्नो छोरीसहित ११ विद्यार्थीले शिक्षकबाट कुटाई खाएको बताए। ‘यो घटना मेरी छोरीमाथि मात्र हैन, उसका साथीहरूलाई पनि शिक्षक अधिकारीले कुटेका रहेछन् । यस्तो घटना बारम्बार हुने गरेको रैछ, अहिले बल्ल थाहा भयो । विद्यार्थीले कम अंक ल्याएको भन्दैमा निर्घात कुट्न शिक्षकलाई कसले अधिकार दियो । यसबारे विद्यालयलाई ध्यानाकर्षण गराएका छौँ। शिक्षकलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ ।’ दीपेन्द्रले सामाजिक सञ्जालमा लेखेका छन् । यसपछि विद्यालयमा नै पुगेर थप छलफल गरेको उनको भनाइ छ । ‘आज हामी विद्यालयमा नै पुग्यौँ, विद्यार्थी कुट्ने शिक्षक र प्रधानाध्यापक मनबहादुर श्रीससहित छलफलमा बस्यौँ,’ दीपेन्द्रले भने, ‘शिक्षक अधिकारीले विद्यार्थीलाई कुटपिट गरेको स्विकार्नुभएको छ, उहाँले गल्तीको महसुस गर्नुभएको छ, म सुध्रन्छु भन्नुभएको छ। समग्र विद्यालयको तर्फबाट पनि माफी माग्नुभएको छ।’ उनले आफूले फेसबुकमा राखेको पोस्ट र समाचार हटाउन दबाबसमेत दिएको बताए। 

विद्यालयका प्रधानाध्यापक मनबहादुर श्रीसले भने विद्यार्थीमाथि कुटपिट भएको थाहा भएपश्चात् शिक्षक र अभिभावकबिच वास्तविकता बुझ्न छलफल भएको बताए। उनले विद्यार्थीहरूबाट जस्तोसुकै गल्ती भए पनि कुटपिट र यातना दिनु राम्रो नभएको बताए। उनले छलफलमार्फत टुंगो लगाउने प्रयास भइरहेको बताए। ‘छलफलमा छौँ। सामान्य विषय हो। यसको समाधान गर्दै छौँ। सहमतिमार्फत एकपटकलाई टुंग्याउने कुरा भएको छ,’ प्रअ श्रीसले भने, ‘अभिभावक, व्यवस्थापन समिति र सम्बन्धित शिक्षकबिच छलफलमार्फत समस्याको समाधान गर्ने तयारीमा छौँ। विद्यालयको तर्फबाट माफी माग्दै साझा धारणा बाहिर ल्याउँदै छौँ।’
विद्यालयले घटनाको बारेमा स्पष्टीकरणसमेत प्रकाशित गर्ने तयारी गरेको उनले बताए।  विद्यालय परिवारले आउँदो दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिाद्धतासमेत गरेको छ। 

यस विषयमा बरेङ गाउँपालिका कार्यालयको शिक्षा शाखामा भने कुनै जानकारी नआएको शिक्षा अधिकृत सूर्यप्रसाद शर्माले बताउँछन्। उनले विद्यालयमा यस्तो घटना भएको सामाजिक संजालमार्फत आफूले थाहा पाए पनि आधिकारिक रूपमा गाउँपालिकामा कुनै गुनासो वा उजुरी नआएको बताए। उनले यसको बारेमा बुझेर आवश्यक कारबाहीको प्रक्रियाको थालनी गर्ने बताए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।