पपस्टार बियोन्से अर्बपतिको सूचीमा

एजेन्सी । विश्वचर्चित पपस्टार बियोन्से आधिकारिक रूपमा अर्बपति बन्नुभएको छ । अमेरिकी आर्थिक पत्रिका फोब्र्सले उहाँलाई अर्बपतिको सूचीमा समावेश गरेको जनाएको छ ।
बियोन्से अर्बपतिको सूचीमा पर्न सफल हुने पाँचौं संगीतकर्मी बन्नुभएको हो । यसअघि उहाँका पति तथा चर्चित हिपहप कलाकार जे-जेड सन् २०१९ मै अर्बपति बन्नुभएको थियो । फोब्र्सको सूचीमा यसअघि रिहाना, ब्रुस स्प्रिंगस्टिन र टेलर स्विफ्ट समावेश हुनुहुन्छ ।

फोब्र्सका अनुसार बियोन्सेको कुल सम्पत्ति २.५ बिलियन अमेरिकी डलर पुगेको छ । यसै महिनाको सुरुआतमा फोब्र्सले उहाँको सम्पत्ति करिब ८०० मिलियन डलर रहेको अनुमान गर्दै निकट भविष्यमा अर्बपतिको सूचीमा पुग्ने प्रक्षेपण गरेको थियो ।
सन् २०२३ मा सम्पन्न उहाँको ‘रेनेसा’ विश्व सांगीतिक भ्रमणबाट मात्रै करिब ६०० मिलियन डलर आम्दानी भएको थियो । यसले बियोन्सेलाई टेलर स्विफ्टसँगै विश्वकै सबैभन्दा प्रभावशाली पप संगीत आइकनको रूपमा स्थापित गरेको फोब्र्सले उल्लेख गरेको छ ।
बियोन्सेले आफ्नो कन्सर्ट प्रस्तुतिबारे आधारित चलचित्र पनि निर्माण गर्नुभएको थियो, जुन सात वर्षपछि उहाँको पहिलो एकल भ्रमण थियो । एएमसी थिएटर चेनसँगको सम्झौतामार्फत चलचित्र सिधै वितरण गरिएको थियो । उक्त चलचित्रले विश्वव्यापी रूपमा ४४ मिलियन डलर बक्स अफिस आम्दानी गरेको थियो, जसको करिब आधा हिस्सा बियोन्सेले प्राप्त गर्नुभएको थियो ।
फोब्र्सको अनुमान अनुसार बियोन्सेको ‘काउब्वाय कार्टर’ भ्रमणबाट मात्रै ४०० मिलियन डलरभन्दा बढीको टिकट बिक्री र ५० मिलियन डलरभन्दा बढीको सामग्री (मर्चेन्डाइज) बिक्री भएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
