घट्दै छन् उत्पादन बढाउने किरा

काठमाडौँ, पुस १८ गते । नेपालमा सरकारी निकायबाट किराको सङ्ख्या कति छ भनेर खोजी गरिएको छैन । सरकारी र गैरसरकारी निकायसँग किराको औपचारिक तथ्याङ्क नभए पनि एक दशकमा किरासम्बन्धी खोजीका क्रममा नेपालबाट २५ प्रतिशत किरा हराएका छन् । कृषि क्षेत्रका अनुसन्धानकर्ता आरपी लामिछाने संसारमा ४० प्रतिशत किराको सङ्ख्या नाटकीय रूपमा घटिरहेको जानकारी दिनुभयो । उहाँले नेपालमा पनि २५ प्रतिशतले किराको सङ्ख्यामा कमी आएको उल्लेख गर्नुभयो ।
लामो समयदेखि युरोप र अमेरिकामा किरा कसरी लोप भइरहेका छन् भन्नेबारे अध्ययन भए पनि अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै क्षेत्रमा भने किरा लोप भएकाबारे कमै अध्ययन भएको छ । नेपालमा पनि किरा लोप भएका बारेमा सरकारी स्तरबाट धेरै खोज हुन सकेको छैन तर त्यसको असर भने किसानलाई पर्न थालेको लामिछाने बताउनुहुन्छ ।

अनावश्यक रूपमा बालिने कृत्रिम प्रकाशले किरा फट्याङ्ग्राको जीवनचक्रमै असर पार्न थालेको छ । त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा देखिन थालेको यो क्षेत्रका विज्ञहरूले उल्लेख गरेका छन् । शरीरमा हुने रासायनिक प्रतिक्रियाले जुनकिरीले शरीरमा बत्ती बाल्छ । यसैको सहयोगमा जुनकिरीले आफ्ना जोडीलाई आकर्षित पनि गर्छ । सिमसिमे जमिन र बुट्यान क्षेत्रको प्राकृतिक प्रकाश भएको समय र अरू रातको समयमा आफ्नो शरीरबाट आउने उज्यालोमा जुनकिरीले समागम गर्दछन् । कृत्रिम प्रकाशले जुनकिरीले दिनरात छुट्याउन नसक्दा उनीहरूको सङ्ख्या निरन्तर कमी भएको विज्ञहरूले उल्लेख गरेका छन् । आकर्षक देखाउन र आफ्नो सुरक्षाका लागि मानिसले रुखमा बत्ती बाल्ने, रातभर उज्यालो बनाउने बानीले साना जनावर र किरा फट्याङ्ग्रालाई असर पारेको लामो समयदेखि कृषि र माटोको अध्ययनमा रहनुभएका कृषि प्रचार अधिकृत कृष्ण धिताल बताउनुहुन्छ ।
“हामी राम्रो देखाउन रुखमा झलमल्ल बत्ती बालिरहेका हुन्छौँ । गाडीमा अनावश्यक फोकस लाइट हालेर सडकसँगै वरिपरिको वातावरणलाई नै उज्यालो पारिरहेका छौँ तर त्यसको प्रत्यक्ष सम्बन्ध रातमा टिमटिम बालेर उड्ने जुनकिरीको जीवनसँग सम्बन्धित हुने कुरा बिर्सिरहेका छौँ,” धितालले भन्नुभयो ।
साँझबिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या पारिरहेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेको धितालले प्रस्ट पार्नुभयो । त्यति ठुलो शङ्खेकिरा कसरी त्यति सानो जुनकिरीले खाने होला भनेर धेरैले सोचे पनि यो शङ्खेकिरा जुनकिरीको लार्भा अवस्था हो । जहाँ शङ्खेकिराको लार्भा नै जुनकिरीको लार्भाको मुख्य आहार हो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
