नक्कली नोट छाप्ने गिरोहमध्ये एक जना मेसिनसहित प्रहरीको नियन्त्रणमा

काठमाडौं । नक्कली नोटको कारोबारमा संलग्न गिरोहमा संलग्न एक व्यक्तिलाई मेसिनसहित पक्राउ गरेको छ । यहीँ पुस १६ गते नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरका नक्कली नेपाली नोट ९३ थानसहित ६ जनालाई नियन्त्रणमा लिइएको थियो ।
घटनामा संलग्न व्यक्तिमाथि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानकै क्रममा बाराको कलैया उपमहानगरपालिका–२ कबलपुर बस्ने २८ वर्षीय गौरीशंकर यादवको संलग्नता देखिएपछि उनलाई पनि नियन्त्रणमा लिइएको छ ।

यादवको बयानका आधारमा नक्कली नोट छाप्ने कार्यमा बाराको फेटा गाउँपालिका–३ घर भई भारतको मोतिहारी लाला टोल, पतौना क्षेत्रमा डेरा गरी बस्ने २८ वर्षीय रविकुमार श्रीवास्तव संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । श्रीवास्तवले नेपालमै नक्कली नोट छाप्न आवश्यक सामग्री भारतबाट ल्याउने तयारी गरेको बयान दिएका छन् ।
त्यसै सूचनाका आधारमा २० गते भारतीय नम्बर प्लेट भएको बुलेट मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर र प्रिन्टिङ उपकरण ल्याउँदै गर्दा जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा रविकुमार श्रीवास्तवलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले घटनास्थलबाट नक्कली नोट छाप्न प्रयोग हुने सामग्री, भारतीय मुद्रा तथा सवारी साधनसहित ठूलो परिमाणमा सामान बरामद गरेको छ । बरामद सामग्रीमा भारतीय रुपैयाँ ५०० दरका ३१७ थान नोट, कलर प्रिन्टर, कम्प्युटर सेट, टोनर, नक्कली पेस्तोल तथा लालीगुराँसको वाटरमार्क छापिएको एक हजार दरको कागजसमेत रहेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
