राष्ट्रिय समाचार

मोबाइल एप बनाएर १२ करोडभन्दा बढी ठगी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अनलाइन स्क्यामिङ (Online Scamming) मार्फत सर्वसाधारणलाई करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीको साइबर ब्युरोले पक्राउ परेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिकसहित ११ जना छन् ।

चितवनको खैरहनीमा ‘एस.एम.सी.एन. एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय खोलेर ‘SMC’ नामक मोबाइल एपमार्फत् उनीहरूले विभिन्न प्रलोभनमा पारी स्क्याम गर्ने गरेको एसपी दीपकराज अवस्थीले बताए ।

बिज्ञापन

यो एप्लिकेसनमार्फत ७० हजारभन्दा बढी नेपाली नागरिकलाई उनीहरूले सञ्जालमा जोडिसकेको ब्युरोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक हे जियाङजियाङसहित मिलन श्रेष्ठ, सौगात थापा, वीरबहादुर तामाङ, सोनम खातुन, प्रिया के.सी, मोनिका गुरुङ, गीता गुरुङ, नासिर मिया अन्सारी, सायरा खातुन र राम निवास प्रसाद कलवार रहेका छन् । उनीहरूलाई काठमाडौंको ठमेल, टोखा, तारकेश्वर तथा रुपन्देही र पर्साका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

उनीहरूविरुद्ध हालसम्म २५५ जनाले सामूहिक उजुरी दिएको प्रहरीको भनाइ छ । ती २५५ जनाबाट १२ करोड ८ लाख १६ हजार ३७२ रूपैयाँ बराबरको ठगी गरिएको छ ।

यो समूहले चितवनको विश्वप्रसिद्ध फिल्म कम्पनीहरू युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नीसँग सहकार्य रहेको दाबी गर्दै सर्वसाधारणलाई विश्वासमा लिने गरेका थिए। उनीहरूले पिरामिड शैलीको ‘पोन्जी स्किम’ अपनाएर नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसन र दैनिक बोनस दिने लालच देखाउँथे ।

पक्राउ परेकाहरूमाथि संगठित अपराध निवारण ऐन र मुलुकी अपराध संहिता बमोजिम अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको छ ।

ब्युरोले घरमै बसी भिडिओ हेरेर पैसा कमाउने वा थोरै लगानीमा धेरै फाइदा हुने जस्ता लोभलाग्दा विज्ञापनको पछाडि नलाग्न सर्वसाधारणलाई सचेत गराएको छ। साथै, आफ्नो बैंक खाता वा QR विवरण अपरिचित व्यक्तिलाई शेयर नगर्न र ठगिएमा तुरुन्त डिजिटल प्रमाणसहित प्रहरीमा उजुरी अनुरोध गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।