राष्ट्रिय समाचार

बाढीपछि नेपाललाई भारतले दैनिक ६५४ मेगावाटसम्म विद्युत् दिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ, ३० भाद्र । नेपालका जलविद्युत् आयोजनामा बाढीका कारण ठूलो क्षति पुगेपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्ने भएको छ।

भारतका नेपालस्थित राजदूत नवीन श्रीवास्तवले सामाजिक सञ्जालमार्फत नेपालमा देखिएको विद्युत् अभावलाई सम्बोधन गर्न भारतले ६५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने जानकारी दिएका हुन्। बाढीका कारण नेपालको ऊर्जा क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै भारतले विद्युत् सहयोग बढाएको उनले बताएका छन्।

भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म दैनिक १८ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको छ। मन्त्रालयका अनुसार उक्त अवधिमा मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म नेपालले भारतबाट विद्युत् आयात गर्न सक्नेछ।

भारतले दिएको यो स्वीकृतिले बाढीका कारण विद्युत् उत्पादनमा आएको कमीका बीच नेपाललाई तत्कालको ऊर्जा आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसबाट नेपाल–भारतबीच लामो समयदेखि हुँदै आएको ऊर्जा सहकार्य थप सुदृढ हुने भारतीय पक्षको विश्वास छ।

भारतको विद्युत् मन्त्रालयले डिसेम्बरमा परिस्थितिको समीक्षा गरी आगामी जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युत्को परिमाणबारे पुनः निर्णय गर्ने जनाएको छ।

गत अगस्ट २६ मा चीन–नेपाल सीमाको हिमाली क्षेत्रमा आएको पहिरोपछि बाढी आउँदा नेपालका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीले जलविद्युत् आयोजनाका संरचना, प्रसारण लाइन तथा अन्य ऊर्जा पूर्वाधारमा समेत गम्भीर क्षति पुर्‍याएको छ।

नेपाल प्रहरीका अनुसार हालसम्म बाढी तथा पहिरोमा परी १ हजार ३९६ जनाको शव फेला परेको छ। रसुवामा १८९, नुवाकोटमा २२, धादिङमा ७१, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको जनाइएको छ।

यस्तै, अझै ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी भइरहेको छ। बेपत्तामध्ये करिब ९०० जना जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी रहेको बताइएको छ। बाढीका कारण नेपालका कम्तीमा १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।

बाढीअघि नेपालको विद्युत् आवश्यकता लगभग पूर्ण रूपमा स्वदेशी जलविद्युत् उत्पादनबाट धानिँदै आएको थियो। अतिरिक्त विद्युत् भारतमा निर्यातसमेत गर्दै आएको नेपाल अहिले आफ्नै उत्पादनमा आएको कमीका कारण भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्थामा पुगेको हो।

यसैबीच, बाढीबाट विस्थापित २ हजार ७८१ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरू तत्काल आफ्नो घर फर्किन सक्ने अवस्था नरहेको बताइएको छ।

बाढीबाट भएको क्षतिको पुनर्निर्माण तथा प्रभावितको पुनःस्थापनाका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ। संयुक्त राष्ट्रसंघ र साझेदार संस्थाहरूले बाढी प्रभावितको सहयोगका लागि करिब ५ करोड अमेरिकी डलर आवश्यक पर्ने जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्। नेपाली अधिकारीहरूले भने प्रारम्भिक पुनर्निर्माणका लागि कम्तीमा ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।