कैलालीमा क्षेत्रअनुसार देउसी–भैलो खेल्ने समय तोकियो

धनगढी, २२ कार्तिक । तिहारमा देउसी–भैलो खेल्ने समय यस वर्ष कैलालीमा क्षेत्रअनुसार फरक–फरक निर्धारण गरिएको छ । सुरक्षा संवेदनशीलता र स्थानीय अवस्थालाई आधार बनाएर जिल्ला प्रशासनले देउसी–भैलो खेल्ने समय छुट्याएको हो ।
विगतका वर्षमा जिल्लाभर एउटै समयसीमा लागू हुँदै आएकोमा यसपटक भने सुरक्षा अवस्थाको विश्लेषण गरी फरक व्यवस्था गरिएको छ । सुरक्षा संवेदनशील रहेका क्षेत्रमा राति ९ देखि १० बजेसम्म र गाउँघर तथा शान्त वातावरण भएका क्षेत्रमा राति १० देखि ११ बजेसम्म देउसी–भैलो खेल्न पाइने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी नगरे पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई सोहीअनुसार परिचालन र निर्देशन दिएको जनाएको छ ।
तिहारका बेला हुन सक्ने झैझगडा, विवाद तथा अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न एउटै समयसीमा लागू नगरी क्षेत्रगत व्यवस्था गरिएको प्रशासनको भनाइ छ ।
सुरक्षा संवेदनशील क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरण गर्न समयसीमा कडाइका साथ पालना गराइने प्रशासनले जनाएको छ ।

