छठको पूर्वसन्ध्यामा रत्नसागर सफाइमा जुटे निरंकारी स्वयंसेवक

जनकपुरधाम, २२ कार्तिक । पर्वका बेला धार्मिक स्थलमा बढ्ने भीडभाडसँगै फोहोर व्यवस्थापनको चुनौतीलाई ध्यानमा राख्दै सन्त निरंकारी मण्डल जनकपुर शाखाले जनकपुरधामको ऐतिहासिक रत्नसागर पोखरी परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ ।
दीपावली, भाइटीका तथा छठ पर्वलाई लक्षित गरी शनिबार आयोजित अभियानमा मण्डलका सदस्य तथा स्थानीय नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए । उनीहरूले पोखरी परिसर र आसपासका क्षेत्रमा सरसफाइ गरेका थिए ।


धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको रत्नसागर पोखरीको स्वच्छता कायम राख्नु स्थानीय समुदायको साझा जिम्मेवारी भएको सन्देश अभियानले दिएको छ । पर्वका समयमा पोखरी तथा धार्मिक स्थलमा श्रद्धालुको आवागमन बढ्ने भएकाले सरसफाइलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य बेचु रजकले सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रत्येक व्यक्ति तथा संघसंस्थाले समाजका लागि केही समय छुट्याउनुपर्ने बताए । वातावरण संरक्षण र सकारात्मक सामाजिक परिवर्तनका लागि संघसंस्थाहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
‘सरसफाइका लागि हामीले केही समय दिनुपर्छ । सामाजिक संघसंस्थाहरूले पनि समाजको हकहित र वातावरण संरक्षणका लागि जिम्मेवारीपूर्वक काम गर्न सक्नुपर्छ,’ रजकले भने ।
उनले सरसफाइलाई कुनै निश्चित दिन वा अभियानमा मात्र सीमित नराखी दैनिक जीवनको व्यवहार बनाउनुपर्नेमा जोड दिए ।

जनकपुरधामका पोखरी, मठमन्दिर तथा ऐतिहासिक सम्पदा सहरको धार्मिक र सांस्कृतिक पहिचानसँग जोडिएका छन् । तिनको संरक्षण र स्वच्छता कायम राख्नु सरकारी निकायसँगै स्थानीय नागरिकको पनि साझा दायित्व भएको रजकले बताए ।
‘स्वच्छ पोखरी, सुन्दर जनकपुरधाम’ भन्ने सन्देशसहित सम्पन्न अभियानले सार्वजनिक सम्पदाको संरक्षणमा नागरिक सहभागिता र सामाजिक संघसंस्थाको भूमिकालाई उजागर गरेको छ ।


You must be logged in to post a comment.