स्वास्थ तथा सरसफाइ

दोधारा चाँदनी अस्पताल सरसफाइमा जुट्यो सन्त निरंकारी मण्डल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दोधारा चाँदनी, २८ साउन । मुक्ति दिवसको अवसरमा सन्त निरंकारी सत्संग भवन दोधारा चाँदनीको आयोजनामा दोधारा चाँदनी नगर अस्पताल परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

सामाजिक सेवा तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित अभियानमा दोधारा चाँदनी क्षेत्रका सन्त–भक्त तथा सेवादलका जवानहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले अस्पताल परिसर, भवन आसपास तथा बाटोघाटोमा रहेका फोहोरमैला संकलन गरी व्यवस्थित गरेका थिए।

सन्त निरंकारी मिशनका सद्गुरु बाबा हरदेव सिंह जी महाराजको ‘प्रदूषण भित्र होस् या बाहिर, दुवै हानिकारक हुन्छन्’ भन्ने सन्देशलाई आत्मसात् गर्दै सरसफाइ अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ।

भक्तबहादुर सुनारको संयोजकत्वमा भएको कार्यक्रममा सहभागी सेवादलका जवानहरूले मास्क, पञ्जालगायतका सुरक्षा सामग्री प्रयोग गरी अस्पताल परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरेका थिए।

अस्पतालजस्तो संवेदनशील तथा सार्वजनिक स्थलको स्वच्छता कायम गर्न सेवादलका जवानहरूले देखाएको सक्रियता र सेवाभावको स्थानीयवासी तथा अस्पताल प्रशासनले प्रशंसा गरेका छन्।

कार्यक्रममा बोल्दै विद्यापाटे तथा पिपरिया सत्संग भवनका इन्चार्ज मानसिंह तिरुवाले सन्त निरंकारी मिशनले आध्यात्मिक चेतनासँगै सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई पनि निरन्तरता दिँदै आएको बताए।

उनका अनुसार मिशनले विभिन्न स्थानमा सरसफाइ तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, बाढी, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा समेत सहयोग गर्दै आएको छ।

दोधारा चाँदनी नगर अस्पताल परिसरमा गरिएको सरसफाइ पनि सद्गुरु बाबा हरदेव सिंह जी महाराजको उक्त सन्देशलाई व्यवहारमा उतार्ने प्रयास भएको तिरुवाले बताए। उनले अस्पताल, सडक, सडक पेटी, सार्वजनिक स्थल तथा खोलानालालगायतका क्षेत्रमा समय–समयमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको जानकारी दिए।

तिरुवाका अनुसार आफ्नै क्षेत्रमा रहेको नगर अस्पताल परिसर तथा आसपासका बाटोमा जम्मा भएको फोहोरमैला संकलन गरी व्यवस्थित गरिएको हो।

सन्त निरंकारी मण्डल नेपालले आध्यात्मिक चेतनासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण, रक्तदान तथा विभिन्न मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता अभियानले सार्वजनिक स्थललाई स्वच्छ राख्नुका साथै नागरिकमा सरसफाइ, वातावरण संरक्षण र सामाजिक सेवाप्रतिको जिम्मेवारीबोध बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।