राजनीति

चुनावको साता दिनपछि ओलीले स्वीकारे पराजय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको हार स्वीकार गर्नुभएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन बिहीबार अध्यक्ष ओलीले चुनावको नतिजा आफू र आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नआएको भन्दै हार स्वीकार गर्नुभएको हो । निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको उहाँको भनाइ छ । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गर्नु आफ्नो र आफ्नो पार्टीको कर्तव्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।’

निर्वाचन परिणाम आफू र पार्टीको पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ, ‘यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु । तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो । निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर, जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन । हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ ।’ अध्यक्ष ओलीले झापा-५ मा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसँग लज्जास्पद हार बेहोर्नुभएको छ ।

बिज्ञापन

प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिट गरी प्रतिनिधिसभाको २७५ सिटका लागि भएको निर्वाचनमा एमाले प्रत्यक्षतर्फ नौ सिटमा खुम्चिएको छ । समानुपातिकतर्फ आधा मत घटेर जम्मा १६ सिट पाउने हैसियतमा पुगेको छ । दुवैतर्फका गरी प्रतिनिधिसभामा एमालेका २५ जना सांसदको प्रतिनिधित्व सुनिश्चित भएको छ । यसअघि अर्थात् २०७९ को निर्वाचनमा समानुपातिकतर्फ २८ लाख बढी मत (३४ सिट) र प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले संसद्को दोस्रो ठूलो दल बन्दै लोकप्रिय मतमा पहिलो बनेको थियो । तर, योपटक एमालेको सांसद संख्या मात्रै घटेन संसद्को पोजिसन नै बदलिएर दोस्रोबाट तेस्रोको हैसियतमा पुगेको छ । रास्वपाले दुईतिहाइ करिब जनमत पाएको प्रतिनिधिसभा चुनावमा एमाले निकै कम सिटका साथ तेस्रो भएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।