मालिकले कर्मचारीलाई ‘आलु’ भनेर बोलाउँदा ४६ लाख जरिवाना

काठमाडौं। बेलायतमा कार्यालयभित्र भएको जातीय अपमानसम्बन्धी एक घटनामा अदालतले महिला कर्मचारीको पक्षमा फैसला गर्दै उनलाई करिब ४६ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति दिन आदेश दिएको छ।
यो फैसला बेलायतको रोजगार सम्बन्धी अदालत एम्प्लोयमेन्ट ट्राइब्युनल (रोजगार न्यायाधिकरण)ले गरेको हो।

पीडित महिला कर्मचारी बर्नाडेट हेयस आयरिश मूलकी थिइन्। उनको आरोप अनुसार उनी काम गर्ने कम्पनीका निर्देशक मिक एटकिन्सले उनको आयरिश पहिचानको मजाक उडाउँदै बारम्बार अपमानजनक शब्द प्रयोग गर्थे।
‘पोटेटो’ भनेर जिस्क्याउँथे
हेयसका अनुसार उनका मालिकले कार्यालयमा अरू कर्मचारीहरूको अगाडि उनलाई बारम्बार ‘पोटेटो’ (आलु) भनेर बोलाउने गर्थे। उनले यसलाई आफ्नो आयरिश पहिचानमाथि गरिएको अपमानजनक टिप्पणी बताएकी छन्।
यति मात्र होइन, उनले ह्वाट्सएप सन्देशमार्फत पनि ‘पोटेटो’ भनेर सन्देश पठाउने गरेको अदालतमा बयान दिएकी थिइन्।
हेयसले अदालतमा दिएको बयानअनुसार यस्तो व्यवहारका कारण उनी आफूलाई अपमानित र असुरक्षित महसुस गर्न थालेकी थिइन्।
कार्यालयको वातावरण अत्यन्त खराब बनेपछि उनलाई प्यानिक अट्याक आउने, निद्रा नलाग्ने जस्ता समस्या समेत देखिन थालेका थिए।
एम्प्लोयमेन्ट ट्राइब्युनलले आफ्नो फैसलामा कम्पनीका निर्देशकले प्रयोग गरेका शब्दहरू अपमानजनक र जातीय आधारमा लक्षित भएको ठहर गरेको छ।
अदालतले कम्पनीलाई हेयसलाई चार हप्ताको तलब बराबरको रकम (करिब ४६ लाख रुपैयाँ), क्षतिपूर्तिका रूपमा दिन आदेश दिएको छ।
सुनुवाइका क्रममा अदालतले यो घटना सामान्य मजाक नभई कर्मचारीमाथि गरिएको जातीय अपमान भएको निष्कर्ष निकालेको थियो।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
