‘आ बाट आमा’ ले मनायो ५१ दिन, पल शाहले के भने?

काठमाडाैं । अभिनेता पल शाह अभिनित चलचित्र ‘आबाट आमा’ ले आज प्रदर्शनको ५१ औँ दिन मनाएको छ। निर्माण टिमले आज चलचित्रको सबै मुख्य कलाकारहरूको उपस्थितिमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो।
चन्द्र पन्त निर्देशित यो चलचित्र माघ १६ गतेबाट प्रदर्शनमा आएको थियो। चलचित्र विकास बोर्डले गत सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार यो चलचित्रले फागुन ३० गते शनिवारसम्म १२ करोड ९९ लाख ३ हजार ८२० रुपैयाँ ग्रस कलेक्सन गरेकोको छ। झण्डै १३ करोडको व्यापार गर्दै यो चलचित्रले आज प्रदर्शनको ५१ औँ दिन मनाएको हो।

कार्यक्रममा नायक पल शाहले आफ्नो छोटो भनाइ राखेका थिए। उनले आफू लो फेजमा भएको समयमा पनि, यो चलचित्र दिएकोमा निर्देशक पन्तलाई विशेष धन्यवाद दिए।उनले भने,‘म जुन अवस्थामा थिए वा भनौँ पल शाहले के नै गर्न सक्छ र? अथवा इन्डस्ट्रीमा उसको उपस्थिति पनि छ र? भन्ने प्रश्न उठिरहेको बेला, निर्देशक चन्द्र पन्तले मलाई सम्झिनुभयो। उहाँले पल शाहलाई लिएर काम गर्छु भन्ने हिम्मत जुटाउनुभयो। जुन बेला उहाँले यो चलचित्रको लागी मलाई प्रस्ताव गर्नुभयो, त्यो बेला नै म उहाँप्रति धन्य थिए।’
‘दाइ अहिले इन्डस्ट्रीमा मेरो नाम यस्तो भइरहेको छ भन्दा पनि उहाँले मलाई हामी गर्न सक्छौँ, तिमीलाई राम्रो स्क्रिप्ट चाहिएको छ भनेर साथ दिनुभयो। यसको लागि म उहाँलाई नमन गर्न चाहन्छु। यो साथ सधैँ रहिरहोस्,’उनले जोडे।
प्रदर्शनको ५१ औँ दिन मनाउनु अघि नै, यो चलचित्रको सिक्वेल घोषणा गरिसकिएको छ। जुन वर्ष २०८३ को दशैँमा आउँदैछ। ‘आबाट आमा २’ को लागि आफू उत्साहित रहेको बताउँदै उनले सुनाए,‘हाम्रो भेट फेरि हुनेछ। यो चलचित्रको सफलताले जिम्मेवारी अझै थपिएको छ। झन् मेहनत गर्नुपर्नेछ। हुन त, म सबै काम सिरियस भएरै गर्छु, चाहे त्यो फिल्म होस्, म्युजिक भिडियो होस् वा मेला महोत्सव। तर सधैँ मेहनत गर्दा सफल नै भइन्छ भन्ने छैन। असफल हुँदा पनि मेहनत गर्न छाडिएन भने चाहिँ अवश्य सफल भइन्छ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
