लम्की महोत्सवको सम्पूर्ण तयारी पूरा, भोलि उद्घाटन हुँदै

स्थानीय उत्पादन, कृषि, व्यापार र संस्कृतिको प्रवर्द्धन मुख्य आकर्षण

लम्की, ९ मंसिर । कैलालीको लम्कीमा आयोजना हुन लागेको लम्की महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको उद्घाटन भोलि मंसिर १० गते हुने भएको छ ।
स्थानीय उत्पादन, कृषि तथा व्यवसायको प्रवर्द्धनसँगै कला–संस्कृतिको संरक्षण र मनोरञ्जनलाई प्राथमिकता दिएर मंसिर २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय कृषि उपज तथा उत्पादनको प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
स्थानीय कृषक तथा व्यवसायीले उत्पादन गरेका सामग्रीलाई बजारसँग जोड्ने, व्यापारिक गतिविधि विस्तार गर्ने र लम्की क्षेत्रको पर्यटन तथा स्थानीय पहिचानको प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरमा परिचित कलाकारसम्मका साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछन् । यसका साथै विभिन्न व्यापारिक तथा कृषि प्रदर्शनीले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
सम्पूर्ण तयारी पूरा भएसँगै आयोजकले स्थानीयवासी, व्यवसायी, कृषक तथा देशभरका दर्शकलाई महोत्सवमा सहभागी भई मनोरञ्जन लिन र स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको छ ।

