मनोरञ्न

दुई महिनाभित्रै सञ्चालनमा आउँदै चिसापानी–राजकाँडा केबलकार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २९ कार्तिक । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माणाधीन केबलकार आगामी दुई महिनाभित्र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आयोजनाको भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेपछि सञ्चालनको तयारी तीव्र पारिएको हो ।

लोक कल्याणकारी विज्ञापन

लम्कीचुहा नगरपालिका–३ स्थित चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ स्थित राजकाँडासम्म जोड्ने ३.१ किलोमिटर लामो केबलकार परियोजनामा पोल ठड्याउने र स्टेसन निर्माणको काम करिब सम्पन्न भएको छ । अब तार तान्ने र केबलकारका डिब्बा जडान गर्ने मुख्य प्राविधिक काम बाँकी रहेको छ ।

आयोजनाको संरचना निर्माण अन्तिम चरणमा पुगेकाले बाँकी प्राविधिक काम सम्पन्न गरी निर्धारित समयभित्रै सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । केबलकार सञ्चालनमा आएपछि चिसापानीबाट छोटो समयमै राजकाँडा पुग्न सकिनेछ ।

लोक कल्याणकारी विज्ञापन
AD

राजकाँडामा निर्माण गरिएको जालपादेवी मन्दिरलाई समेत पर्यटकीय आकर्षणका रूपमा हेरिएको छ । केबलकार सञ्चालनसँगै धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्य अवलोकनका लागि राजकाँडा पुग्ने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

विशेषगरी गर्मी मौसममा तराई क्षेत्रबाट शीतल वातावरणको खोजीमा निस्कने आन्तरिक पर्यटकका लागि राजकाँडा आकर्षक गन्तव्य बन्न सक्ने देखिन्छ । भारतीय पर्यटकलाई समेत लक्षित गरिएको परियोजनाले कैलालीसहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

केबलकार सञ्चालनमा आएपछि स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै होटल, यातायात, व्यापार तथा अन्य पर्यटन व्यवसाय विस्तार हुने विश्वास गरिएको छ । चिसापानी–राजकाँडा केबलकारले यस क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै सुदूरपश्चिमलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन