अनौठो

तीन दशकको संघर्षले बने ‘सुनमान्छे’ सुबास घिसिङ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २९ कार्तिक । शरीरभरि सुनका गहना, महँगा गाडी र करोडौँको सम्पत्ति । बाहिरबाट हेर्दा उनको जीवन ऐश्वर्य र सुखसुविधाले भरिएको देखिन्छ । तर यही चमकधमकभित्र संघर्ष, दुःख र निरन्तर मेहनतको लामो कथा लुकेको छ । उनी हुन्, ‘सुनमान्छे’का रूपमा परिचित सुबास घिसिङ ।

लोक कल्याणकारी विज्ञापन

धनकुटाबाट सामान्य आर्थिक अवस्था भएको परिवारमा हुर्किएका घिसिङ आज आफ्नो विशिष्ट पहिरन, शरीरभरि लगाउने सुनका गहना र विलासी जीवनशैलीका कारण चर्चामा छन् । तर उनी आफ्नो सफलतालाई एकाएक प्राप्त भएको उपलब्धि नभई करिब तीन दशकको मेहनत, संघर्ष र अनुभवको परिणाम मान्छन् ।

व्यवसायमा लागेदेखि अनेक उतारचढाव भोगेको बताउने घिसिङका अनुसार सफलताको बाटो सधैँ सहज हुँदैन । कहिले नाफा त कहिले घाटा हुनु व्यवसायको स्वाभाविक पक्ष हो । घाटा हुँदैमा निराश भएर पछि हट्ने हो भने लक्ष्यमा पुग्न नसकिने उनको अनुभव छ ।

लोक कल्याणकारी विज्ञापन
AD

‘आज म यहाँसम्म आइपुग्नुको कारण धेरै संघर्ष र पीडा सहनु हो । बीचमा हार मानेर भागेको भए आज यो अवस्थामा पुग्ने थिइनँ,’ उनी भन्छन्, ‘कुनै महिना वा वर्ष घाटा हुन सक्छ । तर त्यसलाई पछि उकास्ने हिम्मत गर्नुपर्छ ।’

घिसिङको पहिचान बनेको अर्को विशेषता हो, सुनका गहना । शरीरमा विभिन्न डिजाइनका सुनका गहना लगाउने उनी सुनप्रतिको आफ्नो रुचि खुलेर व्यक्त गर्छन् । अन्तर्वार्ताका क्रममा उनले पहिले लगाएको एउटा गहना हराएपछि डेढदेखि दुई लाख रुपैयाँ खर्च गरेर नयाँ बनाएको सुनाए । ठूलो आकारको टप बनाउन पनि सुन पसलले करिब दुई लाख रुपैयाँ खर्च लाग्ने बताएको उनको भनाइ छ ।

तर आफ्नो शरीरमा देखिने सुनका गहनालाई खोरबाटै कमाएको पैसाको परिणामका रूपमा व्याख्या नगर्न उनको आग्रह छ । समाजमा फोहोर व्यवस्थापन तथा खोरसँग सम्बन्धित कामबाटै सुन र सम्पत्ति जोडेको भन्ने टिप्पणी हुने गरेको भन्दै उनले पुर्ख्यौली सम्पत्तिसँगै छुट्टै व्यापार व्यवसायबाट पनि आम्दानी गरेको स्पष्ट पारेका छन् ।

‘खोरबाटै कमाएर शरीरभरि सुन लगाएको होइन । मेरो बाउबाजेको सम्पत्ति र मैले छुट्टै व्यापार व्यवसाय गरेर आर्जन गरेको सम्पत्ति पनि छ,’ उनी भन्छन् ।

उनका अनुसार खोर तथा फोहोर व्यवस्थापनसँग जोडिएको काम बाहिरबाट हेर्दा आम्दानीको राम्रो स्रोतजस्तो देखिए पनि त्यसमा संलग्न व्यक्तिले भोग्ने पीडा र कठिनाइ बाहिरबाट बुझ्न सजिलो छैन । त्यहाँ काम गर्न शारीरिक मेहनतसँगै अनेक चुनौती सामना गर्नुपर्ने उनको अनुभव छ ।

करोडौँका गाडी चढ्ने र महँगा गहना लगाउने व्यक्तिको जीवन सधैँ सुखमय हुन्छ भन्ने सोच पनि गलत रहेको उनी बताउँछन् । लामो समय काममा व्यस्त रहँदा समयमै खाना खानसमेत नपाउने अवस्था रहेको उनले सुनाए । बाहिर देखिने सम्पन्नताभन्दा भित्रको संघर्ष र पीडा फरक हुने उनको भनाइ छ ।

सम्पत्ति र मृत्युप्रतिको उनको सोच पनि रोचक छ । आफूले लगाउँदै आएको सुन र आफ्नो पहिचान बनेको गेटअपसहित अन्तिम बिदाइ हुन चाहेको उनले परिवारका सदस्यलाई समेत बताइसकेका छन् । जीवनभर कमाएको धन, सम्पत्ति, घर र गाडी अन्ततः यहीँ छाडेर जानुपर्ने भएकाले अनावश्यक लोभ गर्न नहुने उनको धारणा छ ।

‘म मरेर जाँदा मेरो शरीरमा अहिलेको पहिचान र गेटअप जस्तो छ, त्यस्तै रहोस् भन्ने चाहन्छु । धनसम्पत्ति, गाडीघोडाको के अर्थ रहन्छ र ? हामी सबै नाङ्गै आएका हौँ, नाङ्गै जाने हो,’ उनी भन्छन् ।

पछिल्लो समय पैसा, ऐशआराम र विलासी जीवनको खोजीमा युवापुस्ता आकर्षित भइरहेको सन्दर्भमा घिसिङले मेहनत, धैर्य र आत्मविश्वासलाई सफलताको आधार बनाउनुपर्ने सन्देश दिएका छन् । अरूको सम्पन्नता देखेर लोभिनुभन्दा आफ्नै कर्ममा विश्वास गरेर अघि बढ्नुपर्ने उनको सुझाव छ ।

करिब ३० वर्षको व्यावसायिक यात्रामा अनेक संघर्ष र पीडा भोगेर आफू यो अवस्थामा पुगेको बताउने घिसिङको अनुभवले बाहिर देखिने चमकधमक पछाडि पनि लामो मेहनत र त्यागको कथा हुन सक्छ भन्ने देखाउँछ । उनका लागि सुनका गहना र महँगा गाडी परिचयका माध्यम भए पनि वास्तविक सफलता भने संघर्षसँग हार नमान्ने आत्मविश्वास हो ।

बिज्ञापन