भागेर विवाह गरेकी नेपाली युवती मृत फेला, पतिविरुद्ध हत्याको जाहेरी

नक्सलबाडी (दार्जिलिङ), २७ कात्तिक । भारतको पश्चिम बंगालस्थित नक्सलबाडीमा नेपाली युवती मृत अवस्थामा फेला परेकी छन् । दुई वर्षअघि प्रेमविवाह गरेकी झापाको धुलाबारीकी २१ वर्षीया हेमा मण्डलको शव आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परेको हो ।
घटनापछि मृतकका परिवारले उनका पति विप्लव चौधरीविरुद्ध हत्या तथा आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

प्रहरीका अनुसार हेमा र गंगारामपुर निवासी विप्लवबीच नेपालमा काम गर्ने क्रममा चिनजान भएको थियो । चिनजानपछि प्रेमसम्बन्धमा रहेका उनीहरूले करिब दुई वर्षअघि परिवारको सहमतिबिना भागेर विवाह गरेका थिए । विवाहपछि दुवै नक्सलबाडीको रथखोला मोड क्षेत्रमा भाडाको घरमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार विप्लव कामको सिलसिलामा करिब एक सातादेखि घरबाहिर थिए । शुक्रबार घर फर्किंदा उनले पत्नीलाई घरभित्र झुन्डिएको र शव सडेको अवस्थामा फेला पारेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर शव नियन्त्रणमा लिएको थियो ।
मजिस्ट्रेटको उपस्थितिमा घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि उत्तर बंगाल मेडिकल कलेज अस्पताल पठाइएको छ । घटनाबारे सोधपुछका लागि प्रहरीले मृतकका पतिलाई नियन्त्रणमा लिएको छ । घटनाको खबर पाएपछि मृतकका आफन्तसमेत नेपालबाट नक्सलबाडी पुगेका छन् ।
मृतकका बुवाले छोरीको मृत्युमा ज्वाइँकै संलग्नता रहेको आशंका गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । प्रहरी स्रोतका अनुसार घटनास्थलबाट मृतकको मोबाइल फोन बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानमा दम्पतीबीच विवाद तथा मतभेद रहेको संकेत देखिएको छ ।
परिवारका अनुसार उनीहरूबीच पछिल्लो पटक असोज ५ गते संवाद भएको थियो । विवाहपछि विप्लव लामो समय घरबाहिर रहने र हेमा एक्लै बस्नुपर्ने अवस्था रहेको परिवारको भनाइ छ ।
यद्यपि, हेमाको मृत्यु आत्महत्या हो वा यसमा अन्य कसैको संलग्नता छ भन्ने विषय पोस्टमार्टम रिपोर्ट र विस्तृत अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

