विद्यालय भर्नाको प्रमाणित अभिलेखका आधारमा जन्मदर्ताको विवरण सच्याउन सकिने

काठमाडौं, २६ कार्तिक । जन्मदर्ता प्रमाणपत्रमा उल्लेख भएको नाम, थर, जन्ममिति तथा अन्य विवरण सच्याउन अब विद्यालय भर्नाको प्रमाणित अभिलेखलाई आधार बनाउन सकिने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता प्रमाणपत्रमा विवरण सच्याउने सम्बन्धमा स्पष्ट पार्दै विद्यालय भर्नाको प्रमाणित अभिलेखका आधारमा जन्ममितिलगायतका विवरण संशोधन गर्न सकिने जनाएको हो ।

विभागले २०८२ मंसिर २३ गते गरेको निर्णयअनुसार सबै स्थानीय तह र स्थानीय पञ्जीकरण अधिकारीका कार्यालयलाई पठाएको पत्रमा विद्यालय भर्नाको प्रमाणित अभिलेखमा नाम, थर र जन्ममिति स्पष्ट रूपमा खुलाइएको भए त्यसैका आधारमा जन्मदर्ता प्रमाणपत्रमा रहेका विवरण सच्याउन सकिने उल्लेख छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ को नियम २ को खण्ड (क) (३) अनुसार १६ वर्ष उमेर नपुगेका बालबालिका वा नेपाली नागरिकताको प्रमाणपत्र जारी नभएका र शैक्षिक योग्यताको प्रमाणपत्रसमेत नभएका व्यक्तिले जन्मदर्ताको विवरण सच्याउन निवेदन दिँदा स्वास्थ्य संस्थाबाट जारी भएको जन्म प्रमाणपत्र वा विद्यालय भर्नाको प्रमाणित अभिलेख पेस गर्नुपर्ने व्यवस्था छ ।
उक्त व्यवस्थाबारे विभिन्न स्थानीय तहबाट थप स्पष्टता माग भएपछि विभागले विद्यालय भर्नाको प्रमाणित अभिलेखमा नाम, थर र जन्ममिति किटान भएको अवस्थामा सोही अभिलेखलाई आधार मानेर जन्मदर्तामा जन्ममितिलगायतका विवरण सच्याउन सकिने स्पष्ट पारेको हो ।
विभागको उक्त निर्णयले जन्मदर्तामा विवरण त्रुटि भएका बालबालिका तथा नागरिकलाई अभिलेख सच्याउने प्रक्रियामा सहजता पुग्ने अपेक्षा गरिएको छ । यसबाट विशेषगरी विद्यालयमा भर्ना हुँदा कायम गरिएको प्रमाणित अभिलेख र जन्मदर्ताबीच विवरण फरक परेका व्यक्तिलाई राहत पुग्ने देखिन्छ ।
विभागका शाखा अधिकृत मणि कुमार तामाङको हस्ताक्षरमा जारी पत्र सबै ७५३ स्थानीय तह र ६ हजार ७४३ स्थानीय पञ्जीकरण अधिकारीका कार्यालयलाई पठाइएको छ ।



You must be logged in to post a comment.