रुबीलाई स्वागत गर्न विमानस्थल पुगे रुबिन, सामाजिक सञ्जालमा व्यङ्ग्य

काठमाडौं, २२ कार्तिक । रुबिन खड्का, उनकी श्रीमती र रुबी अलीबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा पुनः चर्चा चुलिएको छ । तिहार नजिकिँदै गर्दा रुबी अलीलाई स्वागत गर्न रुबिन खड्का फूल लिएर विमानस्थल पुगेपछि उनीहरूबीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र व्यङ्ग्य हुन थालेका हुन् ।
यसअघि रुबिनकी श्रीमतीले पति रुबी अलीसँग नजिकिएको र आफूलाई बेवास्ता गरेको भन्दै टिकटकमार्फत आफ्नो पीडा सार्वजनिक गरेकी थिइन् । भिडियोमा उनी भावुक हुँदै रोएको दृश्य सार्वजनिक भएपछि यो विषय सामाजिक सञ्जालमा चर्चित बनेको थियो ।

विवाद बढ्दै गएपछि सामाजिक अभियन्ता गिभिना मगरले समेत रुबिनलाई सम्झाउँदै वैवाहिक सम्बन्ध र पारिवारिक जिम्मेवारीप्रति संवेदनशील हुन आग्रह गरेकी थिइन् ।
तर, पछिल्लो समय तिहारको संघारमा नेपाल फर्किएकी रुबीलाई स्वागत गर्न रुबिन आफैँ विमानस्थलमा फूल लिएर पुगेको दृश्य सार्वजनिक भएपछि पुरानो विवाद फेरि चर्चामा आएको हो ।
विमानस्थलमा रुबिनले रुबीलाई फूल दिएर स्वागत गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त दृश्यलाई लिएर प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन् । विशेषगरी ‘के रुबी भाइटीका लगाउन आएकी हुन् ?’ भन्दै व्यङ्ग्यात्मक टिप्पणीहरू भइरहेका छन् ।
यस घटनाले सामाजिक सञ्जालमा व्यक्तिगत सम्बन्ध, पारिवारिक जिम्मेवारी र सार्वजनिक व्यवहारबारे पुनः बहस सिर्जना गरेको छ । यद्यपि, उनीहरूबीचको सम्बन्धको वास्तविक अवस्था र विवादका विषयमा सम्बन्धित पक्षबाट थप स्पष्ट धारणा सार्वजनिक भएको विवरण उपलब्ध छैन ।

