अवर्गीकृत

विद्यार्थी भिसा नियममा अस्ट्रेलियाको कडाइ, अस्थायी भिसाधारीलाई झट्का

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, १७ असोज । अस्ट्रेलियाले विद्यार्थी भिसासम्बन्धी नियममा शुक्रबारदेखि महत्वपूर्ण परिवर्तन गरेको छ। अक्टोबर २, २०२६ देखि अधिकांश विद्यार्थी भिसा (सबक्लास ५००) का आवेदन अस्ट्रेलियाबाहिरबाटै दिनुपर्ने व्यवस्था लागू भएको हो। नयाँ नियमले अस्ट्रेलियामा रहेका अस्थायी भिसाधारी तथा विद्यार्थी भिसा नवीकरण गर्न चाहनेलाई समेत प्रभावित गर्नेछ।

लोक कल्याणकारी विज्ञापन

नयाँ व्यवस्थाअनुसार प्रभावित अस्थायी भिसा भएका व्यक्तिले अस्ट्रेलियाभित्र बसेर विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्। उनीहरूले अस्ट्रेलियाबाहिर गएर आवेदन दिनुपर्नेछ र भिसा स्वीकृत हुँदा पनि अस्ट्रेलियाबाहिरै हुनुपर्नेछ। अस्ट्रेलियामै बसेर आवेदन दिँदा आवश्यक मापदण्ड पूरा नगरे आवेदन अमान्य हुने गृह मामिला विभागले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

यसले भिजिटरलगायत विभिन्न अस्थायी भिसामा अस्ट्रेलिया पुगेपछि विद्यार्थी भिसामा परिवर्तन गर्ने योजनामा रहेका व्यक्तिको विकल्प सीमित गरेको छ। हाल विद्यार्थी भिसा भएका व्यक्तिले अर्को विद्यार्थी भिसा लिनसमेत सामान्य अवस्थामा अस्ट्रेलियाबाहिरबाट आवेदन दिनुपर्नेछ।

लोक कल्याणकारी विज्ञापन

तर केही अवस्थामा अनशोर आवेदनको बाटो खुला राखिएको छ। एउटै शैक्षिक संस्थामा अध्ययनरत रही मुख्य कोर्स पूरा गर्न थप १२ महिनासम्म आवश्यक पर्ने विद्यार्थी, पीएचडीमा जाने विद्यार्थी, प्राथमिक तथा माध्यमिक तहका विद्यार्थी, डिफेन्स वा विदेश मामिला तथा व्यापार विभागबाट प्रायोजित विद्यार्थी तथा निश्चित कोर्समा उच्च तहमा अघि बढ्ने विद्यार्थीले तोकिएका सर्त पूरा गरे अस्ट्रेलियाभित्रबाटै आवेदन दिन सक्नेछन्।

नियमले विद्यार्थीका परिवारका सदस्यसम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरेको छ। अब अधिकांश विद्यार्थी भिसा आवेदकले पति, पत्नी वा आश्रित सन्तानलाई आवेदनमा समावेश गर्न पाउने छैनन्। साथै विद्यार्थी भिसा स्वीकृत भइसकेपछि परिवारका सदस्यलाई ‘सब्सिक्वेन्ट एन्ट्रेन्ट’ का रूपमा पछि थपेर ल्याउने व्यवस्था हटाइएको छ। पीएचडी विद्यार्थी, विदेश मामिला तथा व्यापार विभाग वा डिफेन्सबाट प्रायोजित विद्यार्थी, विदेशी सरकारी छात्रवृत्ति प्राप्तकर्ता तथा केही योग्य देशका विद्यार्थीका लागि भने सीमित छुट छ।

अक्टोबर २ अघि दर्ता भएका विद्यार्थी भिसाका आवेदन भने नयाँ नियम लागू हुनुअघिकै व्यवस्थाअनुसार मूल्यांकन हुनेछन्। त्यस्ता आवेदनमा समावेश गरिएका परिवारका सदस्यको हकमा पनि पुरानै नियम लागू हुने गृह मामिला विभागले जनाएको छ। नयाँ व्यवस्था लागू हुँदैमा हाल कायम विद्यार्थी भिसा स्वतः प्रभावित हुँदैन।

अस्ट्रेलिया अध्ययनको तयारीमा रहेका वा त्यहाँ बसेर भिसा परिवर्तन गर्ने योजना बनाएका व्यक्तिले आवेदन दिनुअघि आफू रहेको भिसाको अवस्था, आवेदन कहाँबाट दिनुपर्ने र भिसा स्वीकृत हुँदा कहाँ रहनुपर्ने विषय यकिन गर्नुपर्ने भएको छ। गृह मामिला विभागले नयाँ नियमअनुसार यात्रा, अध्ययन वा आर्थिक योजना बनाउनुअघि आफ्नो अवस्था र लागू हुने छुटबारे जाँच गर्न आग्रह गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD