प्रवास

विवाहको प्रलोभनमा नेपाली महिलामाथि शोषण गरेको आरोप, भारतीय युवक प्रहरीको नियन्त्रणमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हरदोई (भारत), २ मंसिर । । भारतको उत्तर प्रदेशस्थित हरदोईमा एक नेपाली महिलालाई विवाह गर्ने आश्वासन दिएर डेढ वर्षदेखि शारीरिक शोषण गरेको र पछि विवाह गर्न अस्वीकार गरेको आरोपमा विवाद उत्पन्न भएको छ ।

लोक कल्याणकारी विज्ञापन

कञ्चनपुरकी ती महिलाले हरदोईका एक युवकले प्रेम सम्बन्धमा राखेर विवाहको आश्वासन दिएको तर पछि जात र धर्मको विषय उठाउँदै विवाह गर्न नमानेको आरोप लगाएकी छन् । युवकसँग भारतमा उपचारका क्रममा चिनजान भएको र त्यसपछि उनीहरूबीच प्रेम सम्बन्ध स्थापित भएको बताइएको छ ।

पीडित महिलाको यसअघि नै विवाह भइसकेको र एक छोरीसमेत रहेको खुलेको छ । पारिवारिक विवादका कारण उनी विगत पाँच वर्षदेखि श्रीमानसँग अलग बस्दै आएकी थिइन् । सोही क्रममा भारतमा उपचार गर्न पुगेका बेला युवकसँग उनको चिनजान भएको थियो ।

लोक कल्याणकारी विज्ञापन
AD

महिलाको आरोपअनुसार युवकले विवाह गर्ने आश्वासन दिएपछि उनीहरू सँगै बस्दै आएका थिए । तर, पछिल्लो समय युवकले औपचारिक रूपमा विवाह गर्न अस्वीकार गर्दै जात र धर्मको विषय उठाएपछि विवाद चर्किएको हो ।

विवाद बढ्दै गएपछि होटल परिसरबाहिर ठूलो सङ्ख्यामा मानिस जम्मा भएका थिए । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गरी दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी चौकी पुर्‍याएको बताइएको छ ।

महिलाले युवकविरुद्ध विवाहको प्रलोभनमा पारेर शारीरिक शोषण गरेको र धोका दिएको आरोप लगाएकी छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

घटनाले भारतमा रोजगारी, उपचार तथा अन्य प्रयोजनले बसोबास गरिरहेका नेपाली महिलाको सुरक्षा र उनीहरूले भोग्नुपर्ने सामाजिक तथा कानुनी जटिलताबारे पनि प्रश्न उठाएको छ ।

बिज्ञापन