घटना

देउडा न्याउलेका धरोहर जगत थापाको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ०१ मंसिर

लोक कल्याणकारी विज्ञापन

सुदूरपश्चिमको मौलिक लोकसंस्कृति देउडा तथा न्याउले खेलका सक्रिय साधक जगत थापाको निधन भएको छ । अछामको मंगलसेन नगरपालिका–११ जन्मघर भई कैलालीको दुर्गौलीमा बस्दै आएका थापाको ४०–४२ वर्षको उमेरमा निधन भएको हो ।

स्थानीय समाजसेवी बप्पल रावलका अनुसार थापाको हिजो सोमबार दिउँसो सवा १२ बजे निधन भएको हो । उनको आज मंगलबार कैलालीस्थित जगतपुर सामुदायिक वनमा अन्त्येष्टि गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

थापा देउडा संस्कृतिप्रति गहिरो लगाव राख्ने, मिलनसार र अनुशासित व्यक्तिका रूपमा परिचित थिए । देउडा तथा न्याउले खेलमा उनको सक्रिय सहभागिता रहने गरेको थियो । विशेषगरी मुम्बईको गिरगाउँ चौपाटीमा गणपति विसर्जनका क्रममा आयोजना हुने जात्रामा उनले देउडा खेलेको स्मरण गर्दै देउडा प्रेमीहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

देउडा खेलका क्रममा अनुशासन, मर्यादा र आत्मीयतालाई विशेष महत्त्व दिने थापाले नेपाली लोकसंस्कृतिको प्रवर्द्धनमा आफ्नो रुचि र सहभागितामार्फत योगदान पुर्‍याएका थिए । उनीसँग मुम्बईमा भेटघाट र सहकार्य गरेका देउडा प्रेमीहरूले उनलाई सरल, आत्मीय र संस्कृतिप्रेमी व्यक्तिका रूपमा सम्झिएका छन् ।

रावलका अनुसार थापा पछिल्लो समय मधुमेहसम्बन्धी समस्याबाट पीडित थिए । खुट्टामा घाउ देखिएपछि स्वास्थ्य अवस्था जटिल बनेको र क्यान्सरको आशंकासमेत देखिएको बताइएको छ ।

थापाका एक छोरा र दुई छोरी छन् । जेठो छोरा करिब १७–१८ वर्षका छन् भने छोरीहरू क्रमशः १३–१४ र १०–११ वर्षका रहेको बताइएको छ । उनको निधनले परिवार, आफन्त तथा देउडा संस्कृतिसँग आबद्ध समुदायमा शोक छाएको छ ।

एक मिलनसार देउडा प्रेमी तथा लोकसंस्कृतिका साधक थापाको असामयिक निधनप्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

बिज्ञापन