व्याक्ती बिशेष

सभासद्को पद सकिएपछि जाँडरक्सी बेचेर छोराछोरी हुर्काएँ : शान्ता चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ, ३० कात्तिक । संविधानसभा सदस्य बनेर राष्ट्रिय राजनीतिमा पहिचान बनाएकी दाङकी शान्ता चौधरीले आफ्नो जीवनका कमै सार्वजनिक भएका संघर्षका कथा खुलाएकी छन् । सभासद् हुँदा सामुदायिक वनको झुप्रोमा बस्नुपरेकोदेखि संविधानसभा विघटनपछि छोराछोरीको पालनपोषणका लागि मजदुरी गर्ने, घरमै जाँडरक्सी बनाएर बेच्ने र ब्यूटीपार्लर सञ्चालन गर्नेसम्मका अनुभव उनले एक अन्तर्वार्तामा सार्वजनिक गरेकी हुन् ।

लोक कल्याणकारी विज्ञापन

चौधरीका अनुसार उनी संविधानसभामा प्रवेश गर्दा आफ्नै बस्ने घरसमेत थिएन । परिवारसहित सामुदायिक वनको जग्गामा बनाइएको झुप्रोमा बस्दै आएकी थिइन् । त्यसअघि आफ्नो घरमा पटक–पटक डोजर लगाइएको र आगजनीसमेत भएको उनले बताइन् । सभासद् भएपछि सामुदायिक वनको जग्गा छाड्नुपर्ने भएपछि आफूहरूले त्यहाँको बसोबास छाडेको उनको भनाइ छ ।

सभासद् बनेपछि पनि उनको पारिवारिक र आर्थिक अवस्था सहज हुन सकेन । उनका श्रीमान् मजदुरी गरेर परिवार चलाउने गर्थे । तर आफू सभासद् भएपछि श्रीमानलाई मजदुरी गर्न नदिने अवस्था सिर्जना भएको र यही विषयले पारिवारिक सम्बन्धमा द्वन्द्व बढेको उनले सुनाइन् । अन्ततः श्रीमान् घरबाट अलग्गिएर अर्को विवाह गरेको उनले बताइन् ।

लोक कल्याणकारी विज्ञापन
AD

संविधानसभा विघटन भएपछि काठमाडौंमा बस्ने ठाउँ र घरभाडा तिर्ने आर्थिक स्रोतसमेत नभएपछि दुई साना छोराछोरीसहित दाङ फर्किनुपरेको उनले सुनाइन् । त्यतिबेला उनका छोराछोरी सात–आठ वर्षका थिए । माइतीमा बसेर ऋणधन जुटाउँदै एक कट्ठा जग्गा किनेर सानो घर बनाएको उनले बताइन् ।

त्यसपछि छोराछोरीको पालनपोषण र शिक्षादीक्षाका लागि आफूले विभिन्न काम गर्नुपरेको उनको अनुभव छ । बिहान ४ बजे उठेर घरमै जाँड पकाउने र रक्सी बनाएर जर्किन तथा ग्यालेनमा बोकी होटलहरूमा पुर्‍याएर बेच्ने गरेको उनले पहिलोपटक सार्वजनिक गरेकी हुन् ।

‘कमाएर दिने मान्छे त थिएन । कसले कमाइदिन्छ र मलाई ? आफैँले कमाउनुपर्‍यो, छोराछोरी हुर्काउनुपर्‍यो, बढाउनुपर्‍यो, पढाउनुपर्‍यो । मैले नपढे पनि मेरा छोराछोरीले पढ्नुपर्छ भन्ने लाग्थ्यो,’ उनले अन्तर्वार्तामा भनिन् ।

जीविकोपार्जनको संघर्षसँगै उनले सामाजिक कामलाई पनि निरन्तरता दिइन् । त्यस क्रममा कमलरीहरूलाई ब्यूटीपार्लरसम्बन्धी तालिम दिँदै आफूले पनि उक्त सीप सिकेको र पछि आफ्नै ब्यूटीपार्लर सञ्चालन गरेको उनले बताइन् । सुरुमा सामान्य रूपमा चलेको व्यवसायले उनलाई आर्थिक रूपमा केही राहत दिएको थियो ।

राजनीतिप्रतिको रुचि भने उनीमा कायमै थियो । त्यसैले पछि पुनः निर्वाचनमा प्रतिस्पर्धा गरिन् । तर आर्थिक अभावका कारण चुनावी अभियान सञ्चालन गर्न कठिन भएको उनको अनुभव छ । अन्य उम्मेदवार गाडीमा प्रचारप्रसारमा हिँड्दा आफू भने साइकल चढेर मत माग्न गएको उनले स्मरण गरिन् ।

‘मसँग गाडी थिएन, पैसा थिएन । अरू उम्मेदवार गाडीमा हिँड्नुहुन्थ्यो, म साइकलमा प्रचार गर्थें,’ उनले भनिन् । तत्कालीन अवस्थामा पार्टीले पनि चुनावी खर्च नदिएको र पछि एक लाख रुपैयाँ उपलब्ध गराएको उनले अन्तर्वार्तामा उल्लेख गरेकी छन् ।

अन्तर्वार्ताका क्रममा उनले आफ्नो जीवनका यी प्रसंग यसअघि सार्वजनिक नगरेको बताएकी छन् । संविधान निर्माण प्रक्रियामा सहभागी भइसकेकी व्यक्तिले राजनीतिक जिम्मेवारीबाट बाहिरिएपछि छोराछोरीको भविष्यका लागि मजदुरीदेखि घरेलु मदिरा बिक्रीसम्म गर्नुपरेको उनको अनुभवले सार्वजनिक जीवन र व्यक्तिगत संघर्षबीचको फरक अवस्था उजागर गरेको छ ।

राजनीतिक प्रतिनिधित्व, आर्थिक असुरक्षा, पारिवारिक विखण्डन र एकल अभिभावकका रूपमा छोराछोरी हुर्काउनुपर्दाको संघर्ष चौधरीको जीवनकथाका महत्त्वपूर्ण पक्ष हुन् । राजनीतिक पद र पहिचानभन्दा बाहिर पनि जीविकोपार्जनका लागि उनले गर्नुपरेको संघर्ष उनको पछिल्लो खुलासामार्फत सार्वजनिक भएको छ ।

बिज्ञापन