६८ नेपालीभाषीको ज्यान गएको असम बाढीमा राहत लिएर पुगे सलमान खान

असम, २९ जुलाई । बलिउड अभिनेता सलमान खान भारतको असम राज्यमा हालै आएको भीषण बाढीबाट प्रभावित परिवारहरूको सहयोगमा सक्रिय भएका छन्। आफ्नो परोपकारी संस्था बीइङ ह्युमन (Being Human) र स्थानीय फ्यान क्लबसँगको सहकार्यमा उनले राहत अभियान सञ्चालन गरेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक वामशी पेडिपल्लीको फिल्म ‘SVC63’ को छायांकनमा व्यस्त रहे पनि सलमानले बाढीपीडितको राहत कार्यलाई प्राथमिकतामा राखेका छन्।
राहत अभियानको पहिलो चरणअन्तर्गत शिवसागर जिल्लाका बाढीपीडित परिवारलाई गुवाहाटीबाट पठाइएका तयार खानेकुरा वितरण भइरहेको छ। प्रत्येक राहत प्याकेटमा बिस्कुट, गुड, पोहा, मुरमुरा, ब्रेड, चीज र जाम समावेश गरिएको छ।
खाद्यान्नसँगै पीडितलाई पिउने पानी, पानी शुद्धीकरण गर्ने ट्याबलेट, स्यानिटरी प्याड तथा लामखुट्टेबाट जोगाउने सामग्री पनि उपलब्ध गराइँदै छ। सलमानको टोलीले प्रत्येक प्रभावित परिवारलाई कम्तीमा तीन दिन पुग्ने खाद्यान्न उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ।
अभियानको दोस्रो चरणमा रासन किट तथा आवश्यक औषधि वितरण गरिनेछ। त्यसपछि अन्तिम चरणमा बाढीबाट क्षति पुगेका विद्यालय र अस्पतालको पुनर्निर्माणमा सहयोग गर्ने योजना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस वर्षको मनसुनी वर्षापछि आएको बाढी र डुबानका कारण असममा हालसम्म ६८ जनाको मृत्यु भएको छ। बाढीबाट झन्डै ८ लाख मानिस प्रभावित भएका छन् भने १२८ वटा गाउँ पूर्ण रूपमा बाढीको चपेटामा परेको बताइएको छ। बाढीका कारण हजारौं परिवार विस्थापित भएका छन् र प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
