व्याक्ती बिशेष

६ वर्षदेखि २३ वर्षसम्म घरेलु कामदार, त्यसपछि शाखा अधिकृतदेखि WHO हुँदै अमेरिकी सेनासम्म क्रिस्टिना थारुको प्रेरणादायी यात्रा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ, ६ साउन । जीवनमा सफलता सहजै प्राप्त हुँदैन भन्ने भनाइलाई आफ्नै संघर्षले प्रमाणित गरेकी छन् क्रिस्टिना थारुले। बाल्यकालदेखि अभाव, दुःख र संघर्षसँग जुध्दै अघि बढेकी उनी आज नेपाल सरकारको शाखा अधिकृतदेखि संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गतको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अमेरिकी सेनासम्मको यात्रा तय गर्न सफल भएकी छन्।

क्रिस्टिना थारुले आफ्नो जीवनका कठिन दिनहरू सम्झँदै ६ वर्षको उमेरदेखि २३ वर्षसम्म काठमाडौंमा अरूको घरमा घरेलु कामदारका रूपमा काम गरेको बताएकी छन्। उनका अनुसार त्यो अवधिमा उनले जुठा भाँडा माझ्ने, घरधन्दा गर्ने र दैनिक जीविकोपार्जनका लागि संघर्षपूर्ण जीवन बिताइन्।

बिज्ञापन

आर्थिक अभावका बाबजुद उनले पढाइ भने छाडिनन्। निरन्तरको मेहनत र आत्मविश्वासका कारण २४ वर्षको उमेरमा लोक सेवा आयोगको शाखा अधिकृत पदमा प्रथम स्थानमा नाम निकाल्न सफल भएको उनले बताएकी छन्।

त्यसपछि उनको व्यावसायिक यात्रा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार भयो। २६ वर्षको उमेरमा संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा प्रतिस्पर्धामार्फत छनोट भएर अमेरिका जाने अवसर प्राप्त गरेको उनले उल्लेख गरेकी छन्।

क्रिस्टिनाका अनुसार ३० वर्षको उमेरमा उनले अमेरिकी सेनामा पनि प्रथम स्थानमा छनोट हुने सफलता हासिल गरेकी हुन्। उनी आफ्नो यो उपलब्धिलाई केवल व्यक्तिगत सफलता नभई कठिन परिस्थितिसँग हार नमान्ने इच्छाशक्ति र निरन्तर मेहनतको परिणामका रूपमा लिन्छिन्।

उनले आफ्नो सफलताको श्रेय परिवारलाई दिएकी छन्। विशेषगरी आफूलाई भगवानसरह साथ दिने दादा तथा आफ्ना छोरा–छोरीबाट प्राप्त प्रेरणाले हरेक कठिन मोडमा अघि बढ्न हौसला दिएको उनको भनाइ छ।

क्रिस्टिनाको जीवनयात्रा अभाव, संघर्ष र कठिन परिस्थितिमा रहेका धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। उनले परिस्थितिलाई दोष दिनुभन्दा लक्ष्यप्रति इमानदार भएर निरन्तर मेहनत गर्न सके सफलता सम्भव हुने सन्देश दिएकी छन्।

उनको संघर्षले आर्थिक अवस्था कमजोर भए पनि दृढ संकल्प, शिक्षा र निरन्तर प्रयासका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।