पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट अहिले किराना पसलमा, भन्छन्– ‘राजनीति सेवा हो, कमाइ गर्ने माध्यम होइन’

धनगढी, १६ साउन । कुनै समय सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्रीका रूपमा सरकारी गाडी, सुरक्षा घेरा र महत्वपूर्ण निर्णयको केन्द्रमा रहेका त्रिलोचन भट्ट अहिले धनगढीस्थित एक साधारण किराना पसल सञ्चालन गर्दै श्रमजीवी जीवन बिताइरहेका छन्।
धनगढी उपमहानगरपालिका–४, घरेलु चोकमा रहेको ‘न्यू प्रस्थान किराना पसल’ मा बिहानदेखि नै ग्राहकको चहलपहल हुन्छ। पसलमा मुस्कुराउँदै ग्राहकलाई चामल, अण्डा तथा दैनिक उपभोगका सामग्री उपलब्ध गराइरहेका व्यक्ति अरू कोही होइनन्, पूर्वमुख्यमन्त्री भट्ट हुन्। ग्राहकसँगको उनको सरल र आत्मीय व्यवहारका कारण पसल स्थानीयस्तरमा चर्चाको विषय बनेको छ।
२०७४ सालमा सुदूरपश्चिम प्रदेशको पहिलो मुख्यमन्त्री बनेका भट्टले पाँच वर्ष सरकारको नेतृत्व गरेका थिए। पदबाट बाहिरिएपछि भने उनले फेरि आफ्नै श्रममा आधारित जीवन रोजे। तरकारी खेती गर्ने योजना सफल हुन नसकेपछि करिब तीनदेखि चार लाख रुपैयाँ लगानीमा किराना पसल सञ्चालन गरेको उनले बताएका छन्।
भट्टका अनुसार व्यवसायको उद्देश्य ठूलो नाफा कमाउने होइन, इमानदार श्रमबाट परिवारको जीविकोपार्जन गर्नु हो। उनी भन्छन्, “राजनीति मेरो लागि सेवा हो, जीवन चलाउने माध्यम होइन। इमानदारीको रोटी नै सबैभन्दा मीठो हुन्छ।”
उनले मुख्यमन्त्री हुँदा राज्यले उपलब्ध गराएका सुविधा प्रयोग गरे पनि पद छोडेपछि सामान्य नागरिकसरह श्रम गरेर बाँच्नु स्वाभाविक भएको उल्लेख गरेका छन्।
भट्टले हाल आफ्नै नाममा घर, गाडी वा व्यक्तिगत जग्गा नभएको स्वीकार गरेका छन्। गाउँको पुर्ख्यौली सम्पत्ति पनि दाजुभाइबीच साझा रहेको उल्लेख गर्दै उनले राजनीतिमा छोटो समयमै ठूलो सम्पत्ति जोड्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
उनको परिवारमा श्रीमती, दुई छोरी, एक छोरा र बुहारी छन्। सबैले मिलेर किराना पसल सञ्चालन गर्दै आएका छन्। उनका अनुसार परिवारको साझा श्रम, इमानदारी र आत्मसम्मान नै सबैभन्दा ठूलो सम्पत्ति हो।
वर्तमान राजनीतिक संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै भट्टले नेता पदमा पुगेपछि धनी हुनैपर्छ भन्ने सोच परिवर्तन हुनुपर्ने बताएका छन्। उनका अनुसार लोकतन्त्रको वास्तविक मूल्य कुर्सीमा बसेको बेला होइन, पद छोडेपछि पनि इमानदारीपूर्वक बाँच्न सक्ने संस्कृतिमा निहित हुन्छ।
देशको राजनीतिक अवस्थाबारे बोल्दै उनले समयअनुसार राजनीतिक दलहरूले आफूलाई सुधार्न नसके संघीय व्यवस्थामाथि नै चुनौती थपिन सक्ने चेतावनी दिएका छन्।
धनगढीको एउटा सानो किराना पसलबाट श्रम, सादगी र इमानदारीको सन्देश दिइरहेका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टको जीवनले सत्ता र शक्तिभन्दा श्रम र नैतिकताको मूल्य अझ ठूलो हुने सन्देश दिएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
