आस्था /आध्यात्म

धार्मिक सद्भावका लागि रवि लामिछानेको पहल, हिन्दु र मुस्लिम धर्मगुरुसँग संयुक्त छलफल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न क्षेत्रमा देखिएको धार्मिक तनाव र सामाजिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै हिन्दु तथा मुस्लिम समुदायका धार्मिक अगुवासँग महत्वपूर्ण छलफल गरेका छन्।

रास्वपाको संसदीय दल कार्यालयमा आयोजित छलफलमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराज फुयाल, मौलाना नरुल हुसेन तथा मौलाना मोहम्मद खालिद सहभागी थिए। छलफलको मुख्य उद्देश्य धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने रहेको बताइएको छ।

छलफलपछि दुवै धर्मका अगुवाले एकअर्कासँग हात मिलाउँदै आपसी सम्मान, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश दिएका थिए। सभापति लामिछानेले पनि दुवै पक्षलाई संयुक्त वक्तव्य जारी गर्दै देशभर शान्ति, सद्भाव र सामाजिक सहकार्यको अपिल गर्न आग्रह गरेका छन्।

छलफलका क्रममा लामिछानेले भने, “यहीँ बसेर संयुक्त सन्देश बनाऔँ, यहीँबाट देशलाई सकारात्मक सन्देश दिऔँ। श्रेय कसले पायो भन्ने होइन, अहिले देश जोगाउने जिम्मेवारी सबैको हो।”

उनले नागरिकको धनजनको सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिए। कुनै पनि प्रकारको हिंसा वा द्वन्द्वले अन्ततः सम्पूर्ण समाजलाई नै क्षति पुर्‍याउने उल्लेख गर्दै उनले समयमै संयम अपनाउन आग्रह गरे।

“यदि हामीले ढिला गर्‍यौँ भने अर्को ठूलो दुर्घटना निम्तिन सक्छ। आगो जसले लगाए पनि त्यसले डढाउने हाम्रै घर हो,” भन्दै लामिछानेले संवाद, सहकार्य र पारस्परिक विश्वासमार्फत समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।

देशका विभिन्न स्थानमा धार्मिक तनाव बढिरहेका बेला भएको यो भेटलाई सामाजिक सद्भाव र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने सकारात्मक पहलका रूपमा हेरिएको छ। सहभागी धार्मिक अगुवाहरूले पनि सबै समुदायबीच आपसी सम्मान, शान्ति र सहिष्णुताको वातावरण कायम राख्न संयुक्त रूपमा प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।