आस्था /आध्यात्म

टीकापुरमा गुञ्जियो मानव एकता, प्रेम र विश्वबन्धुत्वको सन्देश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ७ मंसिर । आध्यात्मिक ज्ञान, प्रेम, मानवता र विश्वबन्धुत्वको भावना जीवनमा आत्मसात् गर्नुपर्ने सन्देशसहित कैलालीको टीकापुरमा मङ्सिर ७ गते बृहत् सत्संग कार्यक्रम सम्पन्न भएको छ । सत्संगमा सतगुरुको मार्गदर्शन अनुसार जीवनलाई प्रेम, सेवा, समर्पण र सद्भावको भावले अघि बढाउन वक्ताहरूले आग्रह गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

सन्त निरंकारी मण्डल, प्रधान कार्यालय दिल्लीबाट नेपाल आउनुभएका ज्ञान प्रचारक महात्मा बिनोद वोहरा जी आध्यात्मिक प्रचार यात्राका क्रममा काठमाडौँ, पोखरा, स्याङ्जा, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज तथा तारातालका विभिन्न स्थानमा सत्संग कार्यक्रम गर्दै आइतबार साँझ टीकापुरस्थित निरंकारी सत्संग भवन आइपुग्नुभएको थियो । उहाँले सोमबार आयोजित सत्संगमा आध्यात्मिक ज्ञानले मानिसको सोच, व्यवहार र जीवनको उद्देश्यमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो ।

सतगुरुको कृपाबाट प्राप्त आध्यात्मिक ज्ञानलाई जीवनमा उतार्दै सेवा, सत्संग र सुमिरनमार्फत मानव जीवनलाई प्रेम, शान्ति र सद्भावपूर्ण बनाउनुपर्नेमा टीकापुरमा आयोजित सत्संग कार्यक्रममा जोड दिइएको छ । कार्यक्रममा महात्माले प्रस्तावित सत्संग भवन निर्माणलाई भौतिक संरचना मात्र नभई आध्यात्मिक जागृति र सामूहिक समर्पणको केन्द्रका रूपमा अघि बढाउन आग्रह गर्नुभयो ।

लोक कल्याणकारी विज्ञापन
AD

नोभेम्बर १३ देखि काठमाडौँबाट सुरु भएको नेपाल आध्यात्मिक यात्राका क्रममा काठमाडौँ, पोखरा, स्याङ्जा, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज र तारातालका विभिन्न स्थानमा सत्संग गर्दै टीकापुर आइपुगेको उहाँले बताउनुभयो । नेपालमा सतगुरुको कृपाबाट सत्संग भवन निर्माण तथा आध्यात्मिक प्रचार विस्तार भइरहेको उल्लेख गर्दै टीकापुरमा पनि विशाल, खुला र व्यवस्थित सत्संग भवन निर्माणको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

हालको भवनमा रहेका पिलरका कारण सत्संगमा सहभागी भक्तजनलाई असुविधा हुने भएकाले नयाँ भवन निर्माणको योजना अघि बढाइएको उहाँले बताउनुभयो । सतगुरुको स्वीकृति र आशीर्वादबाट निर्माण कार्यको शिलान्यास हुनु भक्तजनका लागि सौभाग्य भएको उल्लेख गर्दै भवन निर्माण तन, मन र धनको समर्पित सेवाबाट सम्भव हुने उहाँले बताउनुभयो । शारीरिक श्रम, आत्मिक लगनशीलता र आर्थिक सहयोग सबै सेवा उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

काठमाडौँको सत्संग भवन निर्माणको उदाहरण दिँदै उहाँले सन् २०१८ मा सतगुरु माता सुदीक्षा जी महाराजको आदेशपछि भक्तजनको सामूहिक सेवाबाट व्यवस्थित भवन निर्माण भएको स्मरण गर्नुभयो । सुर्खेतमा पनि सत्संग भवन निर्माण भइरहेको उल्लेख गर्दै टीकापुरमा आधुनिक र सुविधायुक्त भवन निर्माण गर्न सबैलाई स्पेसल बिल्डिङ फण्डमा आफ्नो सामर्थ्यअनुसार योगदान गर्न आग्रह गर्नुभयो । उहाँले भक्तजनले समर्पित भावले अर्पण गर्ने सहयोग सद्गुरुको चरणमा भेटी भएको र त्यसको उपयोग मानव कल्याण तथा मिशनका कार्यमा हुनुपर्ने बताउनुभयो ।

सत्संगको महत्वबारे चर्चा गर्दै महात्माले मानिस सांसारिक सुख, धन, पद र प्रतिष्ठाको मोहमा सहजै अल्झिने, तर आध्यात्मिक ज्ञानतर्फ आकर्षित हुन प्रयास गर्नुपर्ने बताउनुभयो । दुःख र समस्यामा सत्संग खोज्ने मानिसले सद्गुरुको वाणी आत्मसात् गर्दै जीवनको दृष्टिकोण परिवर्तन गर्न सक्ने उहाँको भनाइ थियो । ब्रह्मज्ञानले काम, क्रोध, लोभ, मोह, अहंकार, ईर्ष्या र द्वेषजस्ता विकार हटाउन मद्दत गर्ने भन्दै अरूका कमजोरी खोज्नुभन्दा आफ्नै सुधारमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

सच्चा भक्ति भनेको गुरुको चरणमा पूर्ण समर्पण हुनु रहेको उल्लेख गर्दै महात्माले पद, प्रतिष्ठा र सांसारिक आकर्षणभन्दा गुरुको आदेश तथा भक्तिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । ब्रह्मज्ञान प्राप्त गर्नु मात्र नभई त्यसलाई व्यवहारमा उतार्दै सेवा, सत्संग र सुमिरनलाई जीवनको अभिन्न अंग बनाउन सके मानिसले वास्तविक सुख, शान्ति र आत्मिक आनन्द प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा न्युजिल्यान्डबाट आउनुभएका महात्मा प्रकाश भण्डारीले ब्रह्मज्ञानमार्फत परमात्माको पहिचान गरी भक्ति गर्न सकिने उल्लेख गर्दै अहंकार त्यागेर परमात्माको इच्छालाई स्वीकार गर्नु नै वास्तविक समर्पण भएको बताउनुभयो । सांसारिक सुखभन्दा भक्तिबाट प्राप्त हुने आत्मिक आनन्द उच्च रहेको उहाँको भनाइ थियो ।

वक्ता श्रीराम काफ्लेले सन्तको संगत र सद्गुरुको मार्गदर्शनले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताउँदै धर्मले मानवलाई जोड्नुपर्ने, विभाजन गर्न नहुने उल्लेख गर्नुभयो । ‘वसुधैव कुटुम्बकम्’ को भावनाअनुसार संसारका सबै मानिस एउटै परिवारका सदस्य हुन् भन्ने दृष्टिकोण विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा आयुष्मानले मानवलाई आध्यात्मिक रूपमा जागृत गराउनु रहेको बताउँदै व्यवहारमा प्रेम, क्षमा र सहयोगको उज्यालो बाल्नुपर्ने सन्देश दिनुभयो । क्षेत्रीय सेवादल सञ्चालक नरबहादुर बटालाले मानवता, भाइचारा र प्रेम नै सतगुरुको शिक्षाको मूल सार रहेको उल्लेख गर्नुभयो । चन्द्रसिंह भूलले ब्रह्मज्ञानबाट मानिसले जीवनको वास्तविक उद्देश्य बुझ्न सक्ने बताउनुभयो भने कान्तिप्रसाद ज्ञवालीले परमात्माको ज्ञानले जात, वर्ण, वर्ग र धनी–गरिबबीचको विभेद हटाउँदै समानताको भावना जागृत गराउने धारणा राख्नुभयो ।

सन्तुष्ट रावलले कविता वाचन गर्दै मानिसबीच बढ्दै गएको अहंकार र वैरभावको पर्खाल हटाएर प्रेमको पुल निर्माण गर्नुपर्ने भाव प्रस्तुत गर्नुभयो । उहाँले मानवता कायम राख्न मनभित्र जागृतिको ज्योति बाल्नु र परमात्माको पहिचान गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावल, निराजन बोहरा, चेतना रेग्मी, प्रसन्न बटाला, नैनसिंह, लगाएतका स्थानीय सन्तले भजन तथा प्रवचनमार्फत आध्यात्मिक भाव व्यक्त गरेका थिए । सत्संग भवन निर्माण अभियान, सेवा, सुमिरन र सत्संगलाई जीवनको अभिन्न अंग बनाउँदै मानवलाई मानवसँग जोड्नु नै आध्यात्मिक जागृतिको सार रहेको सन्देश कार्यक्रमले दिएको थियो भने सत्संग कार्यक्रम संचालन दीपक रावलले गर्नु भएको थियो ।

बिज्ञापन