बर्दियाको तारातालमा आध्यात्मिक जागृतिको सन्देश

बर्दिया, ६ मंसिर । भक्ति केवल धार्मिक कर्मकाण्ड नभई गुरुको वचन आत्मसात् गर्ने, अहंकार त्याग्ने र निराकार परमात्माप्रति पूर्ण समर्पणको अवस्था भएको आध्यात्मिक प्रवचनमा जोड दिइएको छ । भक्तिको वास्तविक रस सांसारिक सुखसुविधा र बाहिरी आडम्बरमा नभई आत्मिक जागृति, प्रेम, समर्पण तथा निराकारप्रतिको विश्वासमा निहित हुने सन्देश दिइएको छ ।


सन्त निरंकारी मण्डल, दिल्लीबाट नेपाल आउनुभएका ज्ञान प्रचारक महात्मा विनोद वोहरा जी नेपालको प्रचार यात्राका क्रममा आज बर्दियाको तारातालस्थित सत्संग भवनमा आयोजित कार्यक्रममा बोल्दै गुरुको वचनलाई जीवनमा उतार्नु नै सच्चा भक्ति भएको बताउनुभयो । उहाँले केवल संगतमा उपस्थित हुनु वा सेवा गर्नु मात्र पर्याप्त नहुने भन्दै मनलाई गुरुको शिक्षाअनुसार ढाल्न नसके जीवनमा शान्ति र आनन्दको अनुभूति हुन नसक्ने उल्लेख गर्नुभयो ।

रेडियो वा टेलिभिजनले सही संकेत ग्रहण गर्न नसके स्पष्ट आवाज नआएजस्तै गुरुका वचन अनुसार मनलाई ट्युन गर्न नसके भक्तिको वास्तविक अनुभूति नहुने उहाँको भनाइ थियो । भक्ति कुनै सांसारिक इच्छा पूरा गर्ने माध्यम नभई भक्तिका लागि गरिने समर्पण भएको उहाँले बताउनुभयो । धन, सुविधा वा प्रतिष्ठाको अपेक्षासहित गरिने भक्ति लेनदेनजस्तो हुने भन्दै तन, मन र धन सबै परमात्माको मान्ने भाव जागेपछि सांसारिक अपेक्षाहरू समाप्त हुने उहाँको प्रवचनको सार थियो ।

संसारका सुखसँग दुःख, लाभसँग हानि, यशसँग अपयश तथा जन्मसँग मृत्यु जोडिएको हुन्छ । सांसारिक खुसी क्षणिक भए पनि भक्तिबाट प्राप्त आनन्दको विपरीत दुःख नहुने उहाँले बताउनुभयो । जीवनमा भक्ति आएपछि मानिस सुख र दुःख दुवै परिस्थितिमा स्थिर रहन, स्वीकार भाव राख्न र जीवनलाई आनन्दमय बनाउन सक्षम हुने उहाँको भनाइ थियो ।

भक्तिलाई भगवान् र भक्तबीच जोड्ने कडीका रूपमा व्याख्या गर्दै उहाँले चेनका कडीहरू जोडिएर गाडी चल्ने उदाहरण प्रस्तुत गर्नुभयो । चेनको एउटा कडी टुट्दा गाडी चल्न नसकेजस्तै जीवनमा भक्ति कमजोर हुँदा आध्यात्मिक यात्रा पनि अवरुद्ध हुने उहाँले बताउनुभयो । तिलक लगाउनु, तीर्थस्थल जानु वा कर्मकाण्ड गर्नु मात्र भक्तिको पूर्णता नभई गुरुको शिक्षा, सेवा, प्रेम र समर्पण जीवनमा उतार्नु वास्तविक भक्ति भएको उहाँको भनाइ थियो ।

पूर्ण सतगुरुबाट ब्रह्मज्ञान प्राप्त भएपछि निराकार परमात्माप्रति विश्वास जाग्ने र त्यही विश्वासबाट भक्ति सुरु हुने उहाँले बताउनुभयो । गुरुका वचनलाई ग्रहण नगर्ने र अहंकारमा रहने व्यक्ति ज्ञान तथा बुद्धि हुँदाहुँदै पनि जीवनको वास्तविक उद्देश्यबाट विमुख हुन सक्ने उहाँले रावण, कंस, दुर्योधन तथा हिरण्यकश्यपजस्ता पात्रका उदाहरणमार्फत प्रस्ट पार्नुभयो ।
बाहिरी पूजा, मान–सम्मान र धार्मिक आडम्बरले मात्र भक्तिको वास्तविक रस प्राप्त नहुने उल्लेख गर्दै सतगुरुको वाणी सम्पूर्ण मानवजातिका लागि साझा सन्देश भएको उहाँले बताउनुभयो । बाबा हरदेव सिंह जी महाराजको वाणी ‘मन मेरे, भक्ति कर, भक्ति से ही रस आएगा’ उद्धृत गर्दै भक्तिबाट मात्र जीवनमा वास्तविक रस प्राप्त हुने उहाँको भनाइ थियो । संसारका विभिन्न नशा र भोगको प्रभाव क्षणिक हुने तर परमात्माको नामको रस दिनरात कायम रहने उहाँले बताउनुभयो ।
प्रवचनको अन्तिम सारमा भक्तिलाई सफल बनाउन प्रत्येक पल परमात्माप्रति शुक्राना भाव राख्नुपर्ने उल्लेख गर्दै सुखमा मात्र नभई दुःख र कठिन परिस्थितिमा पनि परमात्माको रजामा रहनु, अहंकार त्याग्नु र गुरुका वचनलाई जीवनमा अपनाउनु नै सच्चा भक्तिको पहिचान भएको सन्देश दिइएको थियो ।
कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका सहसचिव नरबहादुर विक, दिल्लीबाट आउनुभएकी महात्मा रानी वोहरा जी, नेपालगन्ज सत्संग भवनका मुखी शिवप्रसाद गुडिया, ताराताल सत्संग भवनका मुखी एमबहादुर सुनार, भीमापुर सत्संग भवनका मुखी लोकराज जोशी, पूर्व शिक्षक तथा सेवादल जवान प्रकाशमान ठकुल्ला र शिक्षक तथा पत्रकार दुर्गा भण्डारीलगायतको उपस्थिति थियो ।

सुदीक्षा, सीता, आकृति, बबिता, सुशीला, उर्मिला, अस्मिता, गुड्डु र दीपकले भजनमार्फत भाव प्रस्तुत गरेका थिए । बबिताले हरदेव वाणी गायन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पंकजले गर्नुभएको थियो ।
यसैबीच, भोलि सत्संग कैलालीको टीकापुरस्थित निरंकारी सत्संग भवनमा आयोजना हुने आयोजकले जनाएको छ । कार्यक्रममा सन्त, भक्त तथा आध्यात्मिक प्रेमीहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ ।


You must be logged in to post a comment.