महेन्द्रनगरमा प्रचार यात्राको समापन, सबैलाई पुनः भेट्ने वाचा गर्दै फर्किए वोहरा जी

महेन्द्रनगर, ११ मंसिर । मानिसले आफू जे हो, त्यसलाई स्वीकार गर्दै बाहिरी देखावा र अरूभन्दा फरक देखिने चाहना त्याग्नुपर्नेमा सन्त निरंकारी मण्डल, दिल्लीबाट नेपाल आउनुभएका ज्ञान प्रचारकले जोड दिएका छन् । वास्तविक स्वरूप पहिचान गरी गुरुका वाणी र उपदेशलाई जीवनमा आत्मसात् गर्नु नै आध्यात्मिक जागृतिको आधार भएको उनको भनाइ छ ।


सन्त निरंकारी मण्डल, प्रधान कार्यालय दिल्लीबाट आध्यात्मिक प्रचार यात्राका क्रममा नेपाल आउनुभएका ज्ञान प्रचारकले कञ्चनपुरको महेन्द्रनगरस्थित सन्त निरंकारी सत्सङ्ग भवनमा आयोजित विशाल सत्सङ्ग समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नोभेम्बर १३ मा काठमाडौं आइपुगेपछि उहाँले पोखरा, स्याङ्जा, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज, ताराताल, कैलालीको टीकापुर, सडकपुर बौनिया, धनगढी र कञ्चनपुरको पुनर्वास हुँदै महेन्द्रनगरसम्म विभिन्न स्थानमा सत्सङ्ग तथा आध्यात्मिक कार्यक्रम गर्नुभएको थियो । महेन्द्रनगरको कार्यक्रमसँगै उहाँको नेपाल प्रचार यात्रा सम्पन्न भएको हो ।
नेपालका विभिन्न स्थानमा रहेका सत्सङ्ग भवनमा पुग्दा महात्माहरूमा देखिएको सेवाभाव, गुरु तथा साधसङ्गतप्रतिको श्रद्धा, भक्ति र आपसी प्रेमले आफूलाई प्रसन्न बनाएको उहाँले बताउनुभयो । हरियाणामा आयोजित वार्षिक सन्त समागममा सहभागी भएर फर्किएका महात्माहरूले त्यहाँबाट प्राप्त आध्यात्मिक ऊर्जा, गुरुका वाणी र उपदेश स्थानीय साधसङ्गतसँग बाँड्नु गुरुमतको महत्वपूर्ण अभ्यास भएको उहाँको भनाइ थियो ।
बाबा हरदेव सिंह जी महाराजको हरदेव वाणीको भाव प्रस्तुत गर्दै उहाँले मानिसको वास्तविक अनुहार र बाहिरी रूपमा देखाइने अनुहारबीच भिन्नता रहेको उल्लेख गर्नुभयो । दसैँका अवसरमा भारतका विभिन्न स्थानमा आयोजना हुने रामलीलाको उदाहरण दिँदै उहाँले राम, रावण, हनुमान, लक्ष्मण र विभीषणका मुखौटा लगाएर पात्रहरूले अभिनय गर्ने गरेको प्रसंग सुनाउनुभयो ।

मानिसको वास्तविक स्वरूप एउटा भए पनि अरूलाई आफूभन्दा फरक र राम्रो देखाउन खोज्दा उसले विभिन्न मुखौटा धारण गर्ने गरेको उहाँले बताउनुभयो । बाहिरी आवरण र देखावाभन्दा आफ्नो वास्तविक पहिचान बुझ्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।
मानिसको चाहना र जीवन परिस्थितिबीचको सम्बन्ध स्पष्ट पार्न उहाँले गर्मीमा चिसो र जाडोमा तातो खोज्ने मानवीय स्वभावको उदाहरण दिनुभयो । मानिसले आफूलाई प्राप्त अवस्थाभन्दा विपरीत कुरा चाहिरहने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले आफ्नो वास्तविक अवस्था स्वीकार गर्न नसक्दा असन्तुष्टि बढ्ने बताउनुभयो ।
त्यस्तै, जन्मसँगै मृत्यु, दिनसँगै रात, उज्यालोसँगै अँध्यारो, लाभसँगै हानि र प्रशंसासँगै आलोचना पनि जोडिएर आउने उदाहरण प्रस्तुत गर्दै उहाँले जीवनमा सुख र दुःख दुवै स्वाभाविक पक्ष भएको बताउनुभयो । मानिसले सुख मात्र चाहेर दुःखबाट अलग हुन नसक्ने उल्लेख गर्दै दुवै अवस्थालाई समान रूपमा स्वीकार गर्नुपर्ने सन्देश दिनुभयो ।

बजारमा प्रचलित ‘एक किन्नुहोस्, अर्को सित्तैमा पाउनुहोस्’ भन्ने व्यापारिक योजनाको उदाहरण दिँदै उहाँले संसारमा हरेक कुरासँग अर्को पक्ष पनि जोडिएर आउने बताउनुभयो । व्यापारीले पुरानो मौज्दात हटाएर नयाँ सामान राख्न छुट तथा उपहारका योजना ल्याउने गरे पनि परमात्माले सृष्टिको सुरुदेखि नै जीवनका विभिन्न पक्षलाई एकअर्कासँग जोडेर राख्नुभएको उहाँको व्याख्या थियो ।
उहाँले बाहिरी आकर्षण, क्षणिक सुख र देखावाभन्दा आध्यात्मिक चेतना महत्वपूर्ण रहेको उल्लेख गर्दै ब्रह्मज्ञानबाट प्राप्त वास्तविक पहिचानलाई जीवनमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । सतगुरुप्रतिको विश्वास, भक्ति, सेवा र सत्सङ्गका माध्यमबाट मानिसले आफ्नो जीवनलाई सकारात्मक तथा आनन्दमय बनाउन सक्ने उहाँले बताउनुभयो ।
जीवनमा सुख र दुःख दुवैलाई परमात्माको प्रसादका रूपमा स्वीकार गर्दै हरेक परिस्थितिमा निरंकारको रजामा रहनु नै सच्चा भक्तिको पहिचान भएको ज्ञान प्रचारक महात्मा बिनोद वोहरा जीले बताउनुभएको छ ।
भारतको हरियाणा राज्यस्थित समालखाको भोडवाल माजरीमा आयोजित ७९औँ वार्षिक निरंकारी सन्त समागमको प्रवचनका क्रममा वोहरा जीले भक्तले अनुकूल परिस्थितिमा मात्र नभई प्रतिकूल अवस्थामा पनि परमात्माप्रति विश्वास र कृतज्ञता कायम राख्नुपर्नेमा जोड दिनुभएको हो ।

प्रवचनका क्रममा वोहरा जीले पक्षाघातका कारण शरीरको एक भाग निष्क्रिय भएर ओछ्यानमा रहेका एक महात्माको प्रसंग सुनाउँदै गुरुभक्तिको उच्च अवस्था प्रस्तुत गर्नुभयो । ती महात्माले सतगुरु तथा राजपिता जीलाई देखेपछि एउटा मात्र हात उठाएर नाच्दै ‘मेरा शहनशाह आए, मेरा मालिक आए, मेरा प्रभु आए, मेरा सतगुरु आए’ भन्दै भजन गाएका थिए ।
राजपिता जीले स्वास्थ्य अवस्थाबारे सोध्दा ती महात्माले आफ्नो शरीरलाई घरसँग तुलना गर्दै भनेका थिए, ‘यो घरको एउटा भाग बिग्रिएको छ । मिस्त्री अर्थात् डाक्टरहरू मर्मतमा लागेका छन् । ठीक भयो भने यही घरमा बस्नेछौँ, नभए घर खाली गरिदिनेछौँ ।’
उनको यो जवाफले शरीरप्रतिको मोहभन्दा माथि उठेर निरंकारको इच्छालाई स्वीकार गर्ने भक्तिभाव झल्काएको वोहरा जीले बताउनुभयो । घर वा सवारीसाधनजस्तै शरीर पनि समयसँगै जीर्ण हुने भएकाले त्यसको मर्मत आवश्यक पर्नु स्वाभाविक भएको उहाँको भनाइ थियो ।
वोहरा जीले सुख र दुःख दुवै परमात्माकै देन भएको उल्लेख गर्दै मानिसले सफलतालाई आफ्नो प्रयासको परिणाम मात्र ठान्ने तर दुःख पर्दा परमात्माप्रति गुनासो गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो । भक्तले सुखमा अहंकार र दुःखमा निराशा पाल्नुको सट्टा हरेक अवस्थामा मालिकप्रति कृतज्ञ रहनुपर्ने उहाँको भनाइ थियो ।
‘न खुसी राम्रो छ, न दुःख राम्रो छ । जुन अवस्थामा मेरो सतगुरुले राख्नुहुन्छ, त्यही अवस्था राम्रो छ’ भन्ने महात्माको प्रसंग उल्लेख गर्दै वोहरा जीले सच्चा भक्तले आफ्नो इच्छा र अपेक्षाभन्दा परमात्माको रजालाई प्राथमिकता दिने बताउनुभयो ।

यसै सन्दर्भमा कवि तथा सन्त निरंकारी मिशनका प्रचारक धर्मसिंह जी शौकको रचनाको भाव प्रस्तुत गर्दै उहाँले संसारमा दिने एक मात्र दाता परमात्मा भएको र बाँकी सबै याचक भएको उल्लेख गर्नुभयो । मानिसले आफूलाई सबै कुराको मालिक ठान्नुको सट्टा परमात्माको कृपाले जीवन सञ्चालन भइरहेको सत्य बुझ्नुपर्ने उहाँको भनाइ थियो ।
वोहरा जीले हरदेव वाणीको ११८औँ शब्दको भाव उद्धृत गर्दै गुनासो र असन्तुष्टिलाई त्यागेर सधैँ कृतज्ञ रहनु नै भक्ति भएको बताउनुभयो । ‘सिकवा–गिला’ अर्थात् गुनासो र असन्तुष्टिलाई मनमा स्थान नदिनु तथा हरेक अवस्थामा परमात्माप्रति शुक्राना व्यक्त गर्नु नै ब्रह्मज्ञानबाट प्राप्त हुने जागृतिको सार भएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रवचनमा उहाँले समागमका क्रममा लामखुट्टेको समस्यासँग जोडिएको अर्को प्रसंग पनि सुनाउनुभयो । स्टेजमा लामखुट्टे बढेपछि फगिङ गरेर धुवाँ छर्किएको भए पनि समस्या समाधान नभएको र केही समयपछि पुनः लामखुट्टे देखिएको उहाँले बताउनुभयो । त्यसपछि सतगुरुले अक्टोबर महिना लामखुट्टेको मौसम भएकाले तिनलाई पनि रहन दिनुपर्ने भाव व्यक्त गर्नुभएको प्रसंग सुनाउँदै वोहरा जीले परिस्थितिलाई स्वीकार गर्ने शिक्षामा जोड दिनुभयो ।
वोहरा जीका अनुसार जीवनमा कुनै परिस्थिति गलत भइरहेको महसुस भए त्यसलाई सुधार्ने प्रयास गर्नुपर्छ । तर, प्रयास गर्दा पनि परिवर्तन सम्भव नभए त्यसलाई लिएर निरन्तर चिन्ता र तनाव लिनुभन्दा परमात्माको इच्छामा छोड्न सक्नुपर्छ । हरेक कुरा आफ्नै इच्छाअनुसार हुनुपर्छ भन्ने जिद्दीभन्दा निरंकारको रजामा रहनु नै भक्तको जीवनशैली भएको उहाँले बताउनुभयो ।

उहाँले ब्रह्मज्ञानले मानिसलाई यही सत्य बुझ्न र जीवनका हरेक परिस्थितिमा सन्तुलित रहन प्रेरित गर्ने उल्लेख गर्दै सुख–दुःखमा समान भाव, अटुट विश्वास र निरन्तर शुक्राना नै जागृत जीवनका आधार भएको बताउनुभयो ।
सुख र दुःख जीवनका स्वाभाविक पाटा भए पनि ती दुवै परिस्थितिभन्दा माथि उठेर सधैँ आनन्दको अवस्थामा रहनु नै सच्चा भक्तिको पहिचान भएको सन्त निरंकारी मिशनका वक्ताले बताएका छन् ।
हरियाणाको समालखास्थित भोडवाल माजरीमा आयोजित ७९औँ वार्षिक निरंकारी सन्त समागमको प्रवचनका क्रममा उनले मानिसले जीवनमा सुख, उज्यालो, सफलता र प्रशंसा मात्र चाहने गरे पनि तिनका विपरीत पक्षलाई पनि स्वीकार गर्नुपर्ने बताए । उनका अनुसार जन्मसँगै मृत्यु, दिनसँगै रात, उज्यालोसँगै अँध्यारो, लाभसँगै हानि तथा प्रशंसासँगै आलोचना जोडिएर आउने प्राकृतिक सत्य हुन् ।
उनले सिक्काको एउटा पाटो मात्र रोजेर अर्को पाटो अस्वीकार गर्न नसकिने उदाहरण दिँदै जीवनमा पनि सुख र दुःख एकअर्कासँग जोडिएका पक्ष भएको बताए । मानिसले सधैँ सुखको कामना गरे पनि संसारका कुनै पनि व्यक्ति, ऋषि, मुनि, पीर, पैगम्बर, वली, अवतार वा भक्त दुःखबाट पूर्ण रूपमा मुक्त हुन नसकेको उनको भनाइ थियो ।
हजूर बाबा हरदेव सिंह जी महाराजले पनि सृष्टिको यही वास्तविकता बुझाउँदै सुख र दुःख जीवनका अभिन्न पक्ष भएको सम्झाउनुभएको प्रसंग उल्लेख गर्दै उनले मानिसले दुःख आउँदा परमात्मालाई दोष दिनुको सट्टा त्यसलाई पनि जीवनको स्वाभाविक अवस्थाका रूपमा स्वीकार गर्नुपर्ने बताए ।

उनका अनुसार सुख र दुःख परिवर्तन भइरहने अवस्थाहरू हुन् । उनले यी दुवैलाई मानिसले दैनिक फेर्ने कपडासँग तुलना गर्दै एउटा मैलो भएपछि अर्को लगाउनेजस्तै जीवनमा सुखपछि दुःख र दुःखपछि सुख आउने क्रम चलिरहने बताए । तर ‘आनन्द’ यस्तो अवस्था हो, जसको विपरीत कुनै अवस्था छैन । यो परमानन्दको अवस्था हो, जुन सच्चा भक्तको जीवनमा मात्र प्राप्त हुन सक्छ ।
सतगुरु माता सुदीक्षा जी महाराजले सन् २०२१ मा कोरोना महामारीका कारण अनलाइनमार्फत आयोजित समागममा ‘विश्वास, भक्ति र आनन्द’ शीर्षकमा दिनुभएको प्रवचन स्मरण गर्दै वक्ताले आनन्दको अवस्थासम्म पुग्न ब्रह्मज्ञान, सद्गुरुप्रतिको विश्वास र भक्ति आवश्यक रहेको बताए ।
उनका अनुसार ब्रह्मज्ञान प्राप्त भएपछि मानिसमा निरंकारप्रतिको विश्वास जागृत हुन्छ । यही विश्वासले सद्गुरुप्रति श्रद्धा र भक्ति उत्पन्न गराउँछ । भक्तिले जीवनमा स्थायी आनन्दको अवस्था ल्याउने भएकाले मानिस सुख र दुःखका परिस्थितिबाट प्रभावित नभई हरेक अवस्थामा परमात्माको रजामा रहन सक्ने उनको भनाइ थियो ।
‘आठ प्रहर रहोस् एक रङ्ग, प्रभुलाई जानोस् सधैँ सङ्ग’ भन्ने भाव प्रस्तुत गर्दै उनले बिहान उठेदेखि राति सुत्दासम्म निरंकारलाई आफ्नो जीवनको अभिन्न साथीका रूपमा स्वीकार गरी जिउनुपर्ने बताए । भक्तको मनमा सधैँ सद्गुरुको वाणी र प्रभुको स्मरण गुन्जिरहने उल्लेख गर्दै उनले यही अवस्थाले जीवनमा वास्तविक आनन्द प्रदान गर्ने बताए ।
प्रवचनका क्रममा उनले शरीरमा पक्षाघात भएर एक भाग निष्क्रिय भएका एक महात्माको प्रसंगसमेत सुनाए । स्वास्थ्य अवस्था गम्भीर भएपछि परिवारले उनलाई अस्पताल पुर्याएको र राजपिता जीको समयमा महात्माहरूले पनि अस्पताल पुगेर उनको अवस्था बुझेको उनले बताए । प्रतिकूल स्वास्थ्य अवस्थाका बाबजुद ती महात्माले परमात्माप्रतिको विश्वास र समर्पण कायम राखेको प्रसंग उल्लेख गर्दै उनले भक्तले जीवनका हरेक परिस्थितिलाई निरंकारको देनका रूपमा स्वीकार गर्नुपर्ने सन्देश दिए ।
उनले मानिसले आफूले चाहेको मात्र प्राप्त हुनुपर्छ भन्ने अपेक्षा त्यागेर जे प्राप्त भएको छ, त्यसमा परमात्माको कृपा देख्न सक्नुपर्ने बताए । सुखमा अत्यधिक खुसी भएर अहंकार नगर्ने र दुःखमा निराश भएर परमात्माप्रति गुनासो नगर्ने जीवनशैली नै भक्तिको सार भएको उनको भनाइ थियो ।
ब्रह्मज्ञानबाट प्राप्त हुने जागृतिले मानिसलाई सुख–दुःखको सीमित घेराभन्दा माथि उठाएर परमानन्दको अवस्थामा पुर्याउने उल्लेख गर्दै उनले सतगुरुप्रतिको अटुट विश्वास, निरन्तर भक्ति र परमात्माप्रतिको शुक्राना नै आनन्दमय जीवनका आधार भएको बताए ।
सन्त निरंकारी मण्डल, दिल्लीबाट नेपाल आउनुभएका ज्ञान प्रचारक महात्माको विभिन्न जिल्लामा सञ्चालित आध्यात्मिक प्रचार यात्रा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित विशाल सत्सङ्ग समारोहसँगै सम्पन्न भएको छ ।

प्रचार यात्राको अन्तिम दिन महेन्द्रनगरस्थित सन्त निरंकारी सत्सङ्ग भवनमा आयोजित कार्यक्रममा उपस्थित सन्त भक्तहरूलाई सम्बोधन गर्दै ज्ञान प्रचारक महात्माले आध्यात्मिक ज्ञान, भक्ति र सत्सङ्गको महत्त्वबारे प्रवचन दिनुभएको थियो ।
कार्यक्रममा राखी जी एवं साथी र सपना जी एवं साथीले गीत प्रस्तुत गरेका थिए । रेणुका जी, उत्तम जी एवं साथी, ममता शर्मा जी, गोपीटा भट्ट जी, जुमान सिंह जी, भक्तबहादुर जी, मान सिंह जी, राहुल ठाकोर जी, जयबहादुर साउद जी, सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख देवराज रिमाल जी र सहसचिव नरबहादुर बि.क. जीले आध्यात्मिक विचार व्यक्त गरेका थिए ।
त्यसैगरी शीतल जी एवं साथीहरूले भक्ति रचना, सिमरन जीले कविता तथा तेजबहादुर बोहरा जीले भक्तिगीत प्रस्तुत गर्नुभएको थियो । दिल्लीबाट आउनुभएकी महात्मा रानी बोहरा जीले पनि प्रवचनमार्फत आध्यात्मिक सन्देश दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन दुर्गा जीले गर्नुभएको थियो भने ध्वनि लक्ष्मी जी र हरदेव बाणी वाचन प्रेम जीले गर्नुभएको थियो ।

यसैबीच, उक्त प्रचार यात्राका क्रममा विभिन्न स्थानबाट समाचार, तस्बिर तथा कार्यक्रमको वस्तुस्थितिसहित नियमित रिपोर्टिङ गरेर प्रचार यात्राका गतिविधि पाठकमाझ पुर्याउन गायक तेजबहादुर बोहराजीले महत्वपूर्ण योगदान गर्नुभएको थियो । काठमाडौदेखि महेन्द्रनगरसम्मको यात्राका क्रममा उहाँले विभिन्न स्थानका कार्यक्रमबारे मालिका समाचारलाई सामग्री उपलब्ध गराउनुभएको थियो । आगामी दिनमा पनि आध्यात्मिक गतिविधि तथा मिशनका कार्यक्रमको समाचार संकलन र सम्प्रेषणमा उहाँको सक्रियता निरन्तर रहोस् भन्ने कामनासहित सतगुरु माता सुदीक्षा जी महाराजबाट थप प्रेरणा, बल र हौसला प्राप्त होस् ।


You must be logged in to post a comment.