‘विकास गर्न होइन, र्याप र ट्याप खान सत्ता बदलिएको रहेछ’ : पूर्वमेयर महादेव बजगाई

लम्की, ११ मंसिर । लम्कीचुहा नगरपालिकाका पूर्व नगरप्रमुख महादेव बजगाईले वर्तमान राजनीतिक नेतृत्वको कार्यशैली, अस्पतालको अवस्था र विकास निर्माणका विषयमा प्रश्न उठाएका छन् । उनले सत्ता परिवर्तनपछि जनताले अपेक्षा गरेअनुसार विकास र सुशासनको अनुभूति गर्न नपाएको टिप्पणी गर्दै जनताप्रतिको जिम्मेवारी पूरा गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

लम्की उद्योग वाणिज्य संघद्वारा आयोजित लम्की महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमेयर बजगाईले सत्ता परिवर्तनको उद्देश्य विकास र सुशासन हुनुपर्नेमा त्यसो हुन नसकेको आरोप लगाए । ‘उहाँहरू विकास गर्न होइन, र्याप र ट्याप खानका लागि मात्रै यो सत्ता बदलेको रहेछ भन्ने कुरा मलाई महसुस भएको छ,’ उनले भने ।
उनले लम्कीचुहा नगरपालिकाको छवि बदनाम भइरहेको उल्लेख गर्दै क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई आफ्नो कार्यशैली सुधार्न आग्रह गरे । प्रतिनिधिसभा सदस्यलाई सामाजिक सञ्जालमा ‘ह्वाट्सएप माननीय’ भनेर टिप्पणी गरिनु र जनताको फोनसमेत नउठाउने गरेको गुनासो आउनु दुःखद भएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीसँगको निकटता र सार्वजनिक कार्यक्रममा देखिएको सम्बन्धका आधारमा क्षेत्रले ठूलो बजेट तथा विकासका योजना पाउने अपेक्षा गरेको भए पनि त्यसअनुसार काम हुन नसकेको उनले टिप्पणी गरे । ‘प्रधानमन्त्रीसँग र्याप गीतमा नाचेको देख्दा यो क्षेत्रमा ठूलो बजेट आउला भन्ने कल्पना गरेको थिएँ,’ उनले भने, ‘तर यो क्षेत्र त खाली पो रहेछ ।’
बजगाईले लम्कीचुहा अस्पतालको अवस्थाप्रति पनि गम्भीर प्रश्न उठाए । अस्पतालको अवस्था बिग्रिँदै जाँदा त्यसको जिम्मेवारी कसले लिने र अस्पताललाई कमजोर बनाउने काममा संलग्नलाई किन कानुनी कारबाही नगरिएको भन्दै उनले प्रश्न गरे ।
ड्युटीमा रहेका चिकित्सकलाई धम्की दिने तथा मानसिक दबाब दिने घटनामा समेत सम्बन्धित पक्षले संरक्षण गरेको आरोप लगाउँदै उनले सुशासनको नारा दिने नेतृत्वले यस्ता विषयमा जवाफ दिनुपर्ने बताए । अस्पतालको सुधार र स्वास्थ्यकर्मीको सुरक्षामा जनप्रतिनिधि गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।
राजनीतिक नेतृत्वले जनताको मतलाई क्षणिक उपलब्धिका रूपमा लिन नहुने बताउँदै उनले जनताको विश्वास गुमाउने काम गर्नेहरूलाई समाजले कुनै न कुनै दिन जवाफ दिनुपर्ने अवस्था आउने चेतावनी दिए । विगतका राजनीतिक घटनाक्रमको स्मरण गर्दै उनले कठिन परिस्थितिमा समेत आफूहरू क्षेत्रका जनताको समस्या समाधानका लागि यहीँ बसेर काम गरेको बताए ।
छ महिनाको अवधिमा सरकारले केही गर्न नसक्ने भन्ने तर्कप्रति असहमति जनाउँदै उनले विगतका सरकारका कामबाट पाठ सिक्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले छोटो अवधिमा गरेका कामको स्मरण गर्दै उनले थोरै समयमै पनि जनताका पक्षमा महत्वपूर्ण काम गर्न सकिने धारणा राखे ।
उनले राजनीतिक दलका अन्य नेताहरूलाई समेत सार्वजनिक मञ्चमा आफ्ना धारणा राख्ने अवसर दिन आफू तयार रहेको बताए । विकास, सुशासन र जनताको सेवाका विषयमा सबै पक्षबीच बहस तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
बजगाई २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भई २०७४ देखि २०७९ सम्म लम्कीचुहा नगरपालिकाको नगरप्रमुखका रूपमा कार्यरत थिए ।

