सामाजिक सञ्जालमा चिनजान बढाएर रकम असुल्न खोजेको आरोपमा महिला पक्राउ

बागलुङ । सामाजिक सञ्जालमार्फत पुरुषहरूसँग चिनजान बढाउने, निजी कुराकानी तथा भेटघाटका गतिविधि रेकर्ड गर्ने र पछि तिनै सामग्री देखाएर आर्थिक दबाब दिने गरेको आरोपमा एक महिला प्रहरी अनुसन्धानमा तानिएकी छन् ।

बहुविवाहको कसुरमा पक्राउ परेकी करिब ३८ वर्षीया सोनु भन्ने सुनिता रोकामाथि फेसबुक, टिकटक र ह्वाट्सएपमा फरक–फरक नामका खाता सञ्चालन गरी पुरुषहरूसँग सम्बन्ध विस्तार गर्ने र निजी च्याट, अडियो तथा भिडियो सुरक्षित राखेर पछि रकम माग्ने गरेको आरोप छ ।
बागलुङ घर तथा माइती भई हाल चितवनको खैरहनी नगरपालिका–२, चैनपुरमा बस्दै आएकी रोकालाई जिल्ला प्रहरी कार्यालय बागलुङले मंसिर ९ गते पक्राउ गरेको हो । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार उनले निजी संवाद तथा भेटघाटका सामग्री सार्वजनिक गरिदिने भन्दै रकम माग्ने र मागअनुसार पैसा नदिए सामाजिक प्रतिष्ठामा आँच पुर्याउने वा झुटा मुद्दामा फसाइदिने धम्की दिने गरेको गुनासो छ । आफ्नै बैंक खातामा रकम जम्मा गर्न दबाब दिने गरेको आरोपसमेत उनीमाथि छ ।
सेना, नेपाल प्रहरी, वैदेशिक रोजगारीमा रहेका व्यक्ति, व्यापारी तथा सरकारी र गैरसरकारी निकायमा कार्यरत एक दर्जनभन्दा बढी व्यक्तिसँग सम्बन्धित गुनासा प्राप्त भएको स्रोतको भनाइ छ । प्रहरीका उच्च अधिकारी, कानुन व्यवसायी तथा पत्रकारसँग आफ्नो पहुँच रहेको दाबी गर्दै सम्बन्धित व्यक्तिलाई दबाब दिने गरेको आरोप पनि उनीमाथि लागेको छ ।
अनुसन्धानका क्रममा उनले विभिन्न मोबाइल फोन र आधा दर्जनभन्दा बढी सिमकार्ड प्रयोग गरी फरक–फरक नाममा सामाजिक सञ्जालका खाता सञ्चालन गर्ने गरेको विवरणसमेत प्राप्त भएको बताइएको छ ।
यसअघि रोकाले एक प्रहरी निरीक्षकविरुद्ध पनि यस्तै प्रकृतिको मुद्दा दर्ता गराएको बताइएको छ । उक्त मुद्दामा प्रहरी निरीक्षकले अदालतबाट सफाइ पाइसकेको जनाइएको छ ।
यद्यपि, रोकामाथि लागेका पछिल्ला आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ । पक्राउ पर्नु मात्र कसुर प्रमाणित हुनु होइन । डिजिटल प्रमाण, प्रहरी अनुसन्धान र न्यायिक प्रक्रियाबाट मात्रै घटनाको वास्तविकता तथा आरोपको सत्यतथ्य निर्क्योल हुनेछ ।

