टीकापुर

पर्यटकको घुइँचो लाग्ने टीकापुर पार्क जाने सडक वर्षौंदेखि जीर्ण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३० कात्तिक । सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको कैलालीको टीकापुर पार्कमा चाडपर्व र सार्वजनिक बिदाका बेला पर्यटकको घुइँचो लाग्ने गरेको छ । तर पार्कसम्म पुग्ने मुख्य सडकको दयनीय अवस्थाले पर्यटकलाई गन्तव्यमा पुग्नुअघि नै सास्ती खेप्नुपर्ने अवस्था छ ।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिका–५ मा अवस्थित ऐतिहासिक टीकापुर पार्कमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । विशेषगरी तिहारमा देउसीभैलो खेल्ने, नाचगान गर्ने, पिकनिक तथा वनभोज मनाउने र घुमफिरका लागि आउनेहरूको भीड लाग्ने गरेको छ । नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट समेत पर्यटक टीकापुर आउने गरेका छन् । चाडपर्व र सार्वजनिक बिदाका समयमा पार्कमा खुट्टा राख्ने ठाउँसमेत नहुने गरी पर्यटकको चाप बढ्ने गरेको स्थानीय बताउँछन् ।

पर्यटकको आकर्षण बढ्दै गए पनि पार्कसम्म पुग्ने सडक भने जीर्ण अवस्थामा छ । बसपार्कदेखि पार्कसम्मको सडकको केही खण्ड मात्रै कालोपत्रे तथा सुधार गरिएको छ भने बाँकी सडकमा ठूला–ठूला खाल्डाखुल्डी छन् । कतिपय स्थानमा सडक उबडखाबड र साँघुरो हुँदा सवारीसाधन आवतजावतमा कठिनाइ हुने गरेको छ । मोटरसाइकल, अटो रिक्सा, कार तथा ठूला सवारीसाधन एउटै सडकमा चलाउनुपर्दा दुर्घटनाको जोखिमसमेत बढेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

पार्क जाने सडकको अवस्था हेर्दा पर्यटकीय गन्तव्यसम्म पुग्ने बाटो हो भन्ने अनुभूति नै नहुने यात्रुहरूको गुनासो छ । विमानस्थलनजिकैको केही मिटर सडक कालोपत्रे गरिए पनि त्यसपछिको लामो खण्डमा खाल्डाखुल्डीले यात्रुलाई हैरान बनाएको छ । पछिल्लो समय पार्कसँगै नजिकैको झोलुङ्गे पुल क्षेत्रमा पनि पर्यटकको आकर्षण बढेको छ । त्यहाँ पुग्ने पर्यटकले समेत यही जीर्ण सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सडकको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै एक स्थानीयले भने, ‘के सोध्नुहुन्छ अब, समस्या भनेर साध्य छैन । पर्यटक आउने ठाउँको सडक यस्तो छ । वर्षौंदेखि खाल्डाखुल्डी छन्, कसैले मर्मत गर्ने चासो देखाएको छैन ।’

अर्का स्थानीयले टीकापुर नगरपालिकाले आफ्नै आम्दानी र पार्कबाट राजस्व संकलन हुने भए पनि सडक सुधारमा ध्यान नदिएको गुनासो गरे । ‘भारतसम्मका पर्यटक आउने टीकापुरमा ठूला–ठूला कुरा गरिन्छन्, तर एउटा सडकका खाल्डा पुर्न सकिँदैन । टीकापुर पार्कबाट यति धेरै राजस्व उठ्छ भने त्यही आम्दानीबाट सडक मर्मत गरे पनि हुन्थ्यो नि,’ उनले भने ।

स्थानीयका अनुसार पार्कमा पर्यटकको आगमन बढेसँगै राजस्व संकलन पनि भइरहेको छ । तर पर्यटकीय क्षेत्रबाट हुने आम्दानीलाई त्यहाँ पुग्ने पूर्वाधार सुधारमा उपयोग गर्न नसकिएको उनीहरूको गुनासो छ । पार्कमा पर्यटकको भीड बढ्ने, राजस्व संकलन हुने तर पार्कसम्म पुग्ने सडकको अवस्था वर्षौंदेखि उस्तै रहनुले सरकारी प्राथमिकतामाथि प्रश्न उठाएको छ ।

टीकापुर पार्क सुदूरपश्चिमको पर्यटकीय पहिचानसँग जोडिएको ऐतिहासिक तथा प्राकृतिक सम्पदा हो । यहाँ परिवारसहित घुम्न आउने, वनभोज मनाउने, शैक्षिक संस्थाबाट शैक्षिक भ्रमणमा आउने तथा भारतबाट समेत पर्यटक आउने गरेका छन् । नयाँ वर्ष, दसैँ, तिहार र सार्वजनिक बिदाका समयमा पर्यटकको चाप अझ बढ्ने गर्छ । पार्कको प्राकृतिक सुन्दरता, हरियाली र ऐतिहासिक महत्त्वले पर्यटकलाई आकर्षित गरे पनि सडकको दुर्दशाले उनीहरूको यात्रा असहज बनाइरहेको छ ।

पर्यटकीय गन्तव्यको विकास पार्कभित्रको सुन्दरतामा मात्रै सीमित हुँदैन । त्यहाँ पुग्ने सडक, यातायात सुविधा, सरसफाइ र समग्र व्यवस्थापनले पनि पर्यटकको अनुभव निर्धारण गर्छ । पार्कभित्रको वातावरण सुन्दर बनाएर मात्रै पर्यटन प्रवर्द्धन सम्भव हुँदैन । पर्यटकलाई गन्तव्यसम्म सहज, सुरक्षित र सुविधाजनक रूपमा पुग्ने वातावरण पनि आवश्यक हुन्छ ।

स्थानीयले पार्क जाने सडकको स्तरोन्नतिका लागि पटक–पटक आवाज उठाउँदै आए पनि तीनै तहका सरकारबाट अपेक्षित चासो नदेखिएको गुनासो गरेका छन् । सडक निर्माण तथा स्तरोन्नतिको जिम्मेवारी स्थानीय, प्रदेश वा संघीय सरकारमध्ये कसले लिने भन्ने विषयसमेत स्पष्ट हुन नसकेको उनीहरूको भनाइ छ ।

पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजना र कार्यक्रम अघि सार्ने सरकारहरूले पर्यटक पुग्ने आधारभूत पूर्वाधार निर्माणमा भने ध्यान दिन नसकेको स्थानीयको आरोप छ । पर्यटकको चाप बढ्दै गएको अवस्थामा साँघुरो र खाल्डाखुल्डी सडकमा ठूला सवारीसाधन गुड्दा थप जोखिम निम्तिन सक्ने देखिन्छ ।

टीकापुर पार्क केवल नगरको आकर्षण मात्रै नभई समग्र सुदूरपश्चिमको पर्यटकीय सम्भावना बोकेको महत्त्वपूर्ण सम्पदा हो । यसको संरक्षण, प्रवर्द्धन र विकाससँगै पार्कसम्म पुग्ने सडकको स्तरोन्नति गर्नु पनि उत्तिकै आवश्यक छ । पर्यटकलाई खाल्डाखुल्डी सडकबाट स्वागत गर्ने कि सहज र सुरक्षित यात्रा गराएर टीकापुरको पर्यटन प्रवर्द्धन गर्ने भन्ने प्रश्न अहिले स्थानीयले सरकारसमक्ष उठाइरहेका छन् ।

पार्कबाट राजस्व संकलन हुने तर त्यहाँ पुग्ने सडक सुधार नहुने अवस्थाको अन्त्य गर्न सम्बन्धित तीनै तहका सरकारबीच समन्वय र स्पष्ट जिम्मेवारी आवश्यक देखिन्छ । पर्यटकीय सम्भावना बोकेको टीकापुर पार्कको आकर्षण बढाउन सडकको तत्काल मर्मत तथा दीर्घकालीन स्तरोन्नति गर्न स्थानीयले माग गरेका छन् ।

बिज्ञापन