मौरनिया मिलदेखि खक्रौलासम्मको अधुरो सडक निर्माण सुरु

टीकापुर, १९ कार्तिक । कैलालीको टीकापुर नगरपालिका– मौरनिया मिलदेखि खक्रौलासम्मको लामो समयदेखि अधुरो रहेको सडक निर्माण कार्य पुनः सुरु भएको छ । निर्माण अलपत्र पर्दा वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयवासी सडक निर्माणले निरन्तरता पाएपछि उत्साहित भएका छन् ।

टीकापुरको मौरनिया मिलदेखि खक्रौलासम्मको सडक यस क्षेत्रका बासिन्दाको आवागमन तथा व्यापारिक गतिविधिका लागि महत्वपूर्ण मानिन्छ । तर, निर्माण कार्य समयमै सम्पन्न नहुँदा सडकको अवस्था जीर्ण बनेको थियो । वर्षायाममा हिलो र पानी जम्ने तथा हिउँदमा धुलो उड्ने समस्याले स्थानीयवासी, पैदलयात्री र सवारी चालक प्रभावित हुँदै आएका थिए ।

सडक अधुरो रहँदा दैनिक आवतजावत गर्ने सर्वसाधारणसँगै विद्यार्थी, किसान र व्यापारीले समेत समस्या भोग्नुपरेको थियो । विशेषगरी कृषि उपज बजारसम्म पुर्याउन तथा खक्रौला नाकासम्म आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो ।

लामो समयदेखि रोकिएको निर्माण कार्य पुनः सुरु भएपछि सडकले पूर्णता पाउने आशा स्थानीयमा जागेको छ । सडक निर्माण सम्पन्न भए टीकापुरको दक्षिणी क्षेत्रको आवागमन सहज हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण र व्यापारिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीयवासीले भने निर्माण कार्यलाई बीचमै अलपत्र नछाड्न र तोकिएको मापदण्डअनुसार गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।


