टीकापुरका रामबहादुर रावललाई सामाजिक सेवाका लागि २५औँ सम्मान

टीकापुर, ११ कात्तिक । कैलालीको टीकापुर नगरपालिका–१, ब्लक नम्बर १० निवासी समाजसेवी रामबहादुर रावललाई सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । जालपादेवी सेवा समिति टीकापुरले रावललाई २५औँ पटक सम्मान गरेको हो ।

रावलले लामो समयदेखि टीकापुर क्षेत्रमा दिवंगत भएका व्यक्तिको शव घाटसम्म पुर्याउने सामाजिक सेवा गर्दै आएका छन् । दिनरात, घामपानी र चिसोको प्रवाह नगरी उनले आफ्नो ट्र्याक्टरमार्फत शव घाटसम्म पुर्याउन सहयोग गर्दै आएका हुन् ।

आफू अन्य काममा व्यस्त रहेका बेला पनि कसैको निधन भएको र शव घाटसम्म पुर्याउनुपर्ने खबर पाएपछि काम छाडेर सेवामा खटिने गरेको रावल बताउँछन् । उनको यही निरन्तर सेवाभावको कदर गर्दै विभिन्न संघसंस्थाले सम्मान गर्दै आएका छन् ।

रावलका अनुसार कात्तिक ७ गते जालपादेवी सेवा समितिले गरेको सम्मान उनको २५औँ सम्मान हो । यसअघि आफूले २४ वटा सम्मान प्राप्त गरिसकेको जानकारी उनले दिएका थिए ।
दिवंगत व्यक्तिको अन्तिम संस्कारका लागि शव घाटसम्म पुर्याउने कामलाई सामाजिक उत्तरदायित्वका रूपमा लिँदै आएका रावलको सेवाले स्थानीय समुदायलाई सहयोग पुगेको छ । उनको निरन्तर प्रयासले मानवीय सेवा र सामाजिक जिम्मेवारीप्रति समर्पित हुन प्रेरणा दिएको स्थानीयको भनाइ छ ।


