सहयोग तथा उदार

दिवंगत छोरीको सम्झनामा विपन्न महिलाको घर बनाउँदै भूमिका

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सल्यान, २४ असोज । दिवंगत छोरी अनुसा डाँगीको सम्झनामा सल्यानकी २७ वर्षीया समाजसेवी भूमिका बिष्टले शारदा नगरपालिका–८, धामीटाकुराकी ५५ वर्षीया निन्याउरी विकको घर पुनर्निर्माण गरिदिने भएकी छन्। बिष्टको आर्थिक सहयोग र स्थानीयवासीको श्रम तथा साथसहयोगमा घर निर्माणको काम सुरु भएको हो।

लोक कल्याणकारी विज्ञापन

एक्लै बस्दै आएकी विकको घर जीर्ण अवस्थामा थियो। घरको छानामा लगाइएका जस्तापाता खिया लागेर पानी चुहिने समस्या थियो। कमजोर घरमा बस्दै आएकी विकको अवस्थाबारे जानकारी पाएपछि बिष्टले घर पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेकी हुन्।

लोक कल्याणकारी विज्ञापन

विकको जीवन पनि दुःखद छ। छोरी गर्भमै हुँदा श्रीमान्ले छाडेर गएपछि उनी एक्लै जीवन बिताउँदै आएकी छन्। अहिले छोरी पनि साथमा नरहेपछि उनको सहारा कोही छैन।

बिज्ञापन

विपन्न र असहायको दुःखमा साथ दिनु नै वास्तविक पुण्य भएको बिष्ट बताउँछिन्। ‘मठमन्दिरमा गएर दानदक्षिणा गर्नुभन्दा दुःखी र पीडितलाई सहयोग गर्न सके बढी पुण्य मिल्छ,’ उनले भनिन्। उनले यसअघि पनि विभिन्न सामाजिक तथा सहयोगका काम गर्दै आएको बताइन्।

बिष्टको आर्थिक सहयोग र स्थानीयवासीको सहभागितामा घर पुनर्निर्माण हुन थालेपछि निन्याउरीलाई सुरक्षित आवासमा बस्ने आशा पलाएको छ। दिवंगत छोरीको सम्झनामा गरिएको यो मानवीय पहलले विपन्न परिवारलाई सहयोग गर्नुका साथै समाजमा परोपकारको सन्देशसमेत दिएको छ। – रुपलाल गिरी, सल्यान

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन