सहयोग तथा उदार

बाढीले अभिभावक खोसेपछि चार बालबालिकालाई सहकारीको खाद्यान्न सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १७ कात्तिक । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी आमाबुवा र दिदी बेपत्ता भएपछि सहाराविहीन बनेका चार बालबालिकालाई किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टीकापुर शाखाले खाद्यान्न सहयोग गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

संस्थाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर टीकापुरमा बस्दै आएका ती बालबालिकालाई खाद्यान्न उपलब्ध गराएको हो । बाढीमा परी बुवा मनीऋषि सञ्ज्याल, आमा मनकला सञ्ज्याल र दिदी सुस्मिता सञ्ज्याल बेपत्ता भएपछि उनीहरू कठिन परिस्थितिमा जीवन बिताउन बाध्य भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

अभिभावक बेपत्ता भएपछि सहाराविहीन बनेका बालबालिकामा १८ वर्षीया नमुना सञ्ज्याल, १६ वर्षीय देवेन्द्र सञ्ज्याल, १३ वर्षीया प्रतीक्षा सञ्ज्याल र ११ वर्षीय अनिल सञ्ज्याल छन् ।

बिज्ञापन

बाजुराबाट आएका सञ्ज्याल परिवारले छोराछोरीको शिक्षा र भविष्य सुनिश्चित गर्ने उद्देश्यले तीन वर्षअघि टीकापुरमा भाडाको घर लिएर बसोबास सुरु गरेको थियो । छोराछोरीलाई टीकापुरमै राखेर पढाउँदै आमाबुवा र दिदी भने रोजगारीका लागि रसुवाको जलविद्युत् आयोजनामा मजदुरी गर्दै आएका थिए । तर, भोटेकोशीमा आएको बाढीले परिवारका तीन सदस्यलाई बेपत्ता बनाएपछि चारै बालबालिकाको जीवनमा ठूलो संकट आइपरेको छ ।

स्थायी बसाइँसराइ नगरेका कारण स्थानीय तहबाट समेत उनीहरूले राहत तथा सहयोग पाउन नसकेको बताइएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले समेत उनीहरूको अवस्थाबारे स्थलगत निरीक्षण गरिसकेको छ ।

परिवारका सदस्य बेपत्ता भएपछि चारै भाइबहिनीको जिम्मेवारी जेठी छोरी नमुनाको काँधमा आएको छ । पढ्ने उमेरमै भाइबहिनीको पालनपोषण र भविष्यको चिन्ता गर्नुपर्ने अवस्थामा पुगेकी नमुनाले आफूलाई रोजगारीको व्यवस्था गरिदिन आग्रह गरेकी छन् ।

‘आमाबुवा र दिदी बेपत्ता भएपछि अब भाइबहिनीको हेरचाह गर्ने दायित्व मेरो भएको छ । कसैले मलाई रोजगारीको व्यवस्था गरिदिए सबैभन्दा बढी आभारी हुने थिएँ,’ उनले भनिन् ।

अभिभावक गुमाएको पीडासँगै दैनिक गुजारा र भाइबहिनीको शिक्षादीक्षाको जिम्मेवारीसमेत सम्हाल्नुपर्ने अवस्थामा रहेका बालबालिकालाई सहकारीले गरेको खाद्यान्न सहयोगले केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

संस्थाको वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विपद्मा परेका परिवारलाई सहयोग गर्नु मानवीय सेवाको उदाहरण भएको स्थानीयले बताएका छन् । यद्यपि, तत्कालको खाद्यान्न सहयोगसँगै बालबालिकाको दीर्घकालीन पालनपोषण, शिक्षा र जेठी छोरीका लागि रोजगारीको व्यवस्था गर्न सम्बन्धित निकाय, सामाजिक संघसंस्था तथा सहयोगी मनहरूको ध्यान जान आवश्यक देखिन्छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन