कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

टीकापुर, २ कात्तिक। दसैँको बिदाका कारण यस वर्ष राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको पहिलो चरण कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

बालबालिकाको पोषण अवस्था सुधार गर्न, भिटामिन ‘ए’ को कमीबाट हुने समस्या न्यूनीकरण गर्न तथा जुकाको सङ्क्रमण नियन्त्रण गर्न सरकारले नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तोकिएको मितिमा आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
बालबालिकाको स्वस्थ विकास र पोषणमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन हुने कार्यक्रममा लक्षित उमेर समूहका सबै बालबालिकालाई सहभागी गराउन सरकारले आग्रह गरेको छ।


