स्वास्थ्य

टीकापुर अस्पतालको प्रयोगशालामा म्याद गुज्रिएका २४ प्रकारका सामग्री फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ११ कात्तिक । टीकापुर अस्पतालको प्रयोगशालामा म्याद गुज्रिएका सामग्री प्रयोग भइरहेको पाइएको छ । टीकापुर नगरपालिका, इलाका प्रशासन कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चलगायतको टोलीले गरेको छड्के अनुगमनका क्रममा प्रयोगशालामा २४ प्रकारका म्याद गुज्रिएका सामग्री फेला परेका हुन् ।

लोक कल्याणकारी विज्ञापन

अनुगमनका क्रममा कतिपय सामग्रीको म्याद हालै सकिएको र कतिपयको एक वर्षअघि नै म्याद समाप्त भएको पाइएको टोलीले जनाएको छ । अस्पतालको प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टको विश्वसनीयतामाथि सेवाग्राहीले प्रश्न उठाउँदै आएका बेला म्याद गुज्रिएका सामग्री भेटिएपछि प्रयोगशालाको व्यवस्थापनमाथि थप प्रश्न उठेको छ ।

लोक कल्याणकारी विज्ञापन

अस्पतालको दन्त सेवा शाखामा पनि म्याद गुज्रिएका सामग्री प्रयोग भइरहेको पाइएको छ । अनुगमन टोलीका अनुसार दन्त सेवा शाखाबाट १३ प्रकारका म्याद गुज्रिएका सामग्री फेला परेका छन् । त्यहाँ प्रयोग भइरहेको एउटा स्प्रेको म्याद सन् २०२३ मै सकिएको पाइएको छ । अस्पतालको मुख्य स्टोरमा पनि म्याद गुज्रिएको एउटा सामग्री भेटिएको छ ।

बिज्ञापन

करिब २२ जना कर्मचारी कार्यरत रहेको प्रयोगशालामा म्याद गुज्रिएका सामग्री भेटिनुले सामग्रीको भण्डारण, नियमित जाँच र व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाएको छ । प्रयोगशालामा प्रयोग हुने सामग्रीको म्याद नियमित रूपमा जाँच गरी प्रयोगयोग्य सामग्री मात्र प्रयोग गर्नुपर्नेमा त्यसो नभएको अनुगमनका क्रममा देखिएको हो ।

अस्पतालका प्रयोगशाला इन्चार्ज तथा ल्याब टेक्नोलोजिस्ट पवन पोख्रेलले भने म्याद गुज्रिएका किट मेसिन सफा गर्न प्रयोग हुने गरेको दाबी गरेका छन् । केही मेसिन लामो समयदेखि बिग्रिएका कारण किट प्रयोग हुन नसक्दा म्याद सकिएको उनको भनाइ छ । अस्पतालको खर्च बचाउन म्याद गुज्रिएका किट मेसिन सफा गर्न प्रयोग गर्ने गरिएको उनले बताएका छन् ।

तर, म्याद गुज्रिएका सामग्रीको प्रयोग, भण्डारण र व्यवस्थापनबारे थप छानबिन आवश्यक देखिएको छ । विशेषगरी प्रयोगशालामा प्रयोग हुने सामग्रीको म्याद र तिनको वास्तविक प्रयोगबारे स्पष्टता नहुँदा परीक्षणको गुणस्तर तथा सेवाग्राहीको विश्वासमा असर पर्न सक्ने चिन्ता बढेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन