कञ्चनपुरमा १६ लाख ८७ हजारका अवैध पटाका बरामद

कञ्चनपुर, २१ असोज । प्रहरीले कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउजी क्षेत्रबाट १६ लाख ८७ हजार रुपैयाँ बराबरका अवैध पटाका बरामद गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिक्रमबहादुर शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले मंगलबार लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका पटाका बरामद गरेको हो।

बरामद पटाका भारतबाट अवैध रूपमा भित्र्याएर भण्डारण गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले बरामद सामग्री जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बरामद गरिएका पटाका विभिन्न प्रकारका रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।
प्रहरीले चाडपर्वलाई लक्षित गरी सीमावर्ती क्षेत्रबाट हुने अवैध पटाका तथा विस्फोटकजन्य सामग्रीको ओसारपसार र भण्डारणमाथि निगरानी बढाएको जनाएको छ।

