भाइलाई भगाएको आरोपमा वडाध्यक्ष पक्राउ

रुकुम पश्चिम — अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका भाइलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि हातपात र सरकारी काममा बाधा पुर्याएको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेका छन्।

प्रहरीका अनुसार असोज २० गते बिहान मुसिकोट नगरपालिका–१ स्थित कालिका मन्दिर नजिकै सडकमा गोपाल विक भन्ने वीरेन्द्र विकलाई उनका दाजु केशरमानसँगै फेला पारिएको थियो। गोपालविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।

प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनुपर्ने जानकारी गराउँदा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग विवाद गरेको जिल्ला प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनले गालीगलौज गर्नुका साथै प्रहरी कर्मचारीलाई धकेलाधकेल गरेका थिए। सोही क्रममा उनले भाइलाई भगाएको र ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोप छ। घटनामा प्रहरी कर्मचारीको पोसाकसमेत च्यातिएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले वडाध्यक्ष विकलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रसेवकको काममा बाधा–विरोध गर्न नहुने कसुरमा तीन दिनको म्याद थप गराएको थियो।
पक्राउ परेपछि विकलाई जिल्ला अस्पताल मुसीकोटमा राखिएको र पछि प्रदेश अस्पताल सुर्खेत पठाइएको विवरण सार्वजनिक भएको छ। प्रहरीले हिरासतमा कुटपिट गरेको भन्दै उनले अस्पतालमा उपचार गराएको बताइएको छ। तर जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक वेद पौडेलले हिरासतमा कुटपिट गरिएको भन्ने दाबी अस्वीकार गरेका छन्। घटनाबारे दुवै पक्षका भनाइ र उपलब्ध प्रमाणका आधारमा थप पुष्टि आवश्यक छ।
वडाध्यक्ष विकविरुद्ध यसअघि पनि विभिन्न मुद्दा दर्ता भएको प्रहरी अभिलेखमा उल्लेख छ। आर्थिक वर्ष २०७६/७७ मा उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालयले १० हजार रुपैयाँ धरौटीमा छाडेको प्रहरी विवरणमा उल्लेख छ। सोही आर्थिक वर्षमा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अदालतको आदेशअनुसार एक लाख रुपैयाँ धरौटीमा छुटेको पनि प्रहरीले जनाएको छ।
आर्थिक वर्ष २०७७/७८ मा उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी अर्को मुद्दा दर्ता भएको र २४ हजार रुपैयाँ धरौटीमा छुटेको प्रहरी अभिलेखमा उल्लेख छ।
उनका भाइ गोपाल विक भन्ने वीरेन्द्रविरुद्ध पनि ज्यान मार्ने उद्योग र अभद्र व्यवहारलगायतका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। ज्यान मार्ने उद्योगसम्बन्धी दुई मुद्दामा पक्राउ परेका उनी अदालतमा उपस्थित गराइएका थिए। ती मुद्दामा कारागार चलान भए पनि पछि उच्च अदालत सुर्खेतको आदेशबाट छुटेको प्रहरी विवरणमा उल्लेख छ।
पछिल्लो घटनामा वडाध्यक्षले भाइविरुद्धको अनुसन्धानमा हस्तक्षेप गरेको आरोप लागेपछि प्रहरीले दुवै दाजुभाइसँग सम्बन्धित घटनाको विवरण संकलन गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।


