संयुक्त नेपाली महासङ्घद्वारा बाढीपीडितका लागि १६ लाख १७ हजार रुपैयाँ सहयोग

दिल्लीस्थित नेपाली दूतावासलाई १६ लाख १७ हजार ६०० रुपैयाँको चेक हस्तान्तरण

मुम्बई, १० अक्टूम्बर । भारतको मुम्बईस्थित संयुक्त नेपाली महासङ्घले नेपालका बाढीपीडितका लागि सङ्कलन गरेको १६ लाख १७ हजार ६०० रुपैयाँ आर्थिक सहयोग दिल्लीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ।

महासङ्घका अध्यक्ष पूर्णबहादुर कुँवर र कोषाध्यक्ष राज रावलले बिहीबार (८ अक्टोबर २०२६) दिल्लीस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूत डा. सुरेन्द्रजंग थापालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, धादिङ, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै भौतिक संरचना र पशुचौपायामा समेत क्षति पुगेपछि पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले महासङ्घले आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको हो।
महासङ्घले ६ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तयारी गरेको हरितालिका तीजको दर खाने कार्यक्रमसमेत स्थगित गरी उक्त कार्यक्रमका लागि सङ्कलन गरिएको रकम बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको थियो। त्यसपछि थप आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको महासङ्घले जनाएको छ।

राहत रकम सङ्कलनमा महासङ्घका सल्लाहकार प्रमुख रविचन्द्र भट्टराई, वरिष्ठ सल्लाहकार सदस्य जगतबहादुर सिंह, काशी पाण्डे, देवेन्द्र शाह, ताराप्रसाद शर्मा, महिला प्रमुख विष्णा शिवप्रसाद बिष्ट, बलराम बराललगायतको भूमिका रहेको थियो। सल्लाहकार सदस्य खुमलाल गैरेले रकम सङ्कलनमा विशेष भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी, निवर्तमान सल्लाहकार प्रमुख भरत रावल, विष्णु खत्री, ठाणे क्षेत्र प्रमुख तथा पूर्वअध्यक्ष धीरबहादुर रावल, कुलाबा क्षेत्र प्रमुख गणेश ढकाल, नेपाल–भारत सम्पर्क प्रमुख तथा निवर्तमान अध्यक्ष युवराज न्यौपाने र आजीवन सदस्य प्रकाश पोखरेललगायतले पनि सहयोग गरेका थिए।
महासङ्घका केन्द्रीय पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, आजीवन सदस्य तथा कल्याण–डोम्बिवली र गोरेगाउँ शाखाका पदाधिकारी एवं सदस्यहरूले राहत सङ्कलन अभियानमा योगदान दिएका थिए।
महासङ्घका अध्यक्ष कुँवरले राहत रकम उपलब्ध गराउने प्रवासी नेपाली, नेपालका शुभचिन्तक तथा भारतीय नागरिकलगायत सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेका छन्। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको दुःखमा साथ दिन गरिएको यो सहयोगले पीडितलाई केही राहत पुग्ने विश्वास महासङ्घले व्यक्त गरेको छ।



You must be logged in to post a comment.