१२ तोला सुन बेचेर सडकका जनावरको पेट भरिन् रश्मी दीदी

२५ वर्षदेखि बेसहारा पशुपन्छीको सेवामा, आफ्नै दुःख बिर्सेर मूक प्राणीको सहारा बन्दै
काठमाडौं, २५ कार्तिक । आफ्नो सुखसुविधा र व्यक्तिगत आवश्यकताभन्दा सडकमा आश्रित बेसहारा जनावरको भोक र पीडालाई प्राथमिकता दिनु सामान्य त्याग होइन । तर काठमाडौंको असन निवासी रश्मी तुलाधरले विगत २५ वर्षदेखि यही त्याग र समर्पणलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउँदै आएकी छन् । धेरैले उनलाई ‘रश्मी दीदी’ भनेर चिन्छन् । सडकका कुकुर तथा अन्य बेसहारा पशुपन्छीको सेवामा उनले देखाएको समर्पण मानवता र करुणाको अनुपम उदाहरण बनेको छ ।

जनावरको पेट भर्नकै लागि आफ्नो १२ तोला सुन बिक्री गर्नुपरेको उनको अनुभवले सेवाप्रतिको समर्पण कति गहिरो छ भन्ने देखाउँछ । सहकारीमा जम्मा गरेको सम्पूर्ण रकम डुब्दासमेत उनले मूक प्राणीको सेवा गर्ने अभियानलाई निरन्तरता दिइरहिन् । आर्थिक अभाव, व्यक्तिगत समस्या र अनेकौं कठिनाइले उनलाई आफ्नो उद्देश्यबाट विचलित बनाउन सकेनन् ।
रश्मीको जीवन आफैंमा संघर्षपूर्ण छ । उनको एक हात पूर्ण रूपमा अशक्त छ । कुनै समय शारीरिक अवस्थाका कारण समाजको व्यवहार सहन नसकेर घरबाहिर निस्कनसमेत हिचकिचाउने उनी सडकका बेसहारा जनावरसँग जोडिएपछि भने जीवनको नयाँ उद्देश्य भेट्टाउन सफल भइन् । अरूका लागि असहाय ठानिन सक्ने उनी आज आफैं सयौं मूक प्राणीको सहारा बनेकी छन् ।
आफू बिरामी हुँदा पनि सडकका जनावरलाई खाना खुवाउने जिम्मेवारीबाट उनी पछि हटिनन् । विशेषगरी रत्नपार्कमा आफूले खाना खुवाउने आशामा बाटो कुरेर बसेका कुकुरहरूको अवस्थाले उनलाई निकै भावुक बनायो । आफू नपुग्दा ती जनावर भोकै बस्नुपर्ने अवस्थाले उनको मन छोयो । त्यसपछि जस्तोसुकै परिस्थिति आए पनि उनीहरूको हेरचाह र खानपानलाई निरन्तरता दिने अठोट गरेको उनी सुनाउँछिन् ।
उनले सडकका जनावरलाई केवल खाना खुवाउने काम मात्र गरेकी छैनन्, आफ्नै सन्तानसरह माया गरेर उनीहरूको हेरचाहसमेत गर्दै आएकी छन् । आफूले माया गरेर हुर्काएका जनावर बिरामी पर्दा वा मृत्यु हुँदा उनलाई ठूलो पीडा हुन्छ । उनीहरूलाई परिवारकै सदस्यजस्तो ठान्ने रश्मीका लागि ती मूक प्राणीको दुःख आफ्नै दुःखजस्तै बन्ने गरेको छ ।
‘आफू बाँचुन्जेल यी बोल्न नसक्ने प्राणीहरूको सेवा गरिरहने’ उनको चाहना छ । न त शारीरिक अशक्तताले उनको सेवाभाव रोक्न सक्यो, न आर्थिक अभावले नै । आफ्नो आवश्यकता कटौती गरेर भए पनि भोकाएका जनावरको पेट भर्नु नै उनको जीवनको महत्वपूर्ण उद्देश्य बनेको छ ।
मानिसले मानिसप्रति मात्र होइन, बोल्न नसक्ने अन्य जीवप्रति पनि माया, दया र जिम्मेवारी देखाउनुपर्छ भन्ने सन्देश रश्मीको जीवनले दिएको छ । समाजमा मानवताको कुरा धेरै गरिन्छ, तर व्यवहारमा त्यसलाई उतार्ने उदाहरण भने कमै भेटिन्छन् । रश्मी दीदी त्यस्तै उदाहरणमध्ये एक हुन् ।
उनको २५ वर्ष लामो निःस्वार्थ सेवाले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ– सडकमा आश्रित बेसहारा जनावरको संरक्षण र खानपानको जिम्मेवारी केवल केही व्यक्तिको मात्रै हो कि राज्य र समाजको पनि उत्तिकै दायित्व हो ? रश्मीको समर्पणलाई सम्मान गर्दै यस्ता मूक प्राणीको संरक्षणमा सामूहिक जिम्मेवारी र सहकार्यको आवश्यकता देखिन्छ ।

