घटना

भारतमा तिहारका बेला पटाकाजन्य आगलागी : १६ जनाको मृत्यु, करोडौंको क्षति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मध्य प्रदेशमा मात्रै १२ जनाले गुमाए ज्यान, महाराष्ट्रसहित विभिन्न राज्यमा आगलागीका दर्जनौं घटना

काठमाडौं, २५ कार्तिक । भारतमा तिहार (दिवाली) का अवसरमा पटाका पड्काउने क्रममा देशका विभिन्न राज्यमा आगलागी र दुर्घटनाका घटना भएका छन् । पटाकाजन्य आगलागीका कारण अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । केही व्यक्ति बेपत्ता छन् । आगलागीबाट करोडौं रुपैयाँबराबरको धनमाल क्षति भएको छ ।

लोक कल्याणकारी विज्ञापन

सबैभन्दा बढी मानवीय क्षति मध्य प्रदेशमा भएको छ । त्यहाँ पटाकाका कारण घरमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । कटनी जिल्लाको बरहीमा एउटा घरमा आगलागी हुँदा दुई महिनाको शिशुसहित एउटै परिवारका छ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी सिवनी जिल्लाको छपारामा भएको आगलागीमा थप छ जनाको मृत्यु भएको छ भने चार जनालाई उद्धार गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

राजस्थानको पालीमा पटाका पसलमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । राजधानी दिल्लीको नरेलामा रकेट पटाका लागेर १० वर्षीय बालकको मृत्यु भएको छ ।

यसैगरी जम्मुको नेहरू मार्केटमा भएको आगलागीमा १२ भन्दा बढी पसल जलेर नष्ट भएका छन् । महाराष्ट्रको नागपुरस्थित टीभीएस (TVS) शोरुममा आगलागी हुँदा ठूलो संख्यामा मोटरसाइकल जलेका छन् । पुणेमा तिहारकै दिन आगलागीका ६३ वटा घटना दर्ता भएका छन् ।

मुम्बईको डोङ्गरी क्षेत्रमा आगलागी हुँदा धेरै पसल तथा झुपडी जलेर नष्ट भएका छन् । लोखन्डवालामा भएको अर्को घटनामा एक जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको बाँदा क्षेत्रमा आगलागीबाट करिब २५ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

पटाका पड्काउने क्रममा भएका आगलागीका घटनापछि विभिन्न स्थानमा दमकलका टोली परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो । आवासीय क्षेत्र, व्यापारिक प्रतिष्ठान तथा पसलमा आगलागी फैलिँदा ठूलो आर्थिक क्षति भएको छ ।

तिहारलाई उज्यालो र खुसीको पर्वका रूपमा मनाइए पनि असावधानीपूर्वक पटाका पड्काउँदा भारतका विभिन्न सहरमा जनधनको ठूलो क्षति भएको छ । पछिल्ला घटनाले पटाका प्रयोग गर्दा सावधानी अपनाउन र सम्भावित दुर्घटनाबाट बच्न आवश्यक सुरक्षा उपाय अवलम्बन गर्नुपर्ने देखाएको छ ।

बिज्ञापन