भारतमा रक्सी पिलाएर आफ्नै साथीहरूले गरे नेपाली नागरिकको हत्या, तीन जना पक्राउ

बिजनौर (भारत), २३ कात्तिक । भारतको उत्तर प्रदेशस्थित बिजनौर जिल्लाको नजीबाबादमा नेपाली नागरिक अशोकबहादुर शाहीको हत्या गरी नगद तथा सामान लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली नागरिकसहित भारतका एक जना रहेका छन् ।
प्रहरीका अनुसार कालिकोटका ४५ वर्षीय अशोकबहादुर शाहीलाई उनका आफ्नै चिनजानका साथीहरूले रक्सी पिलाएर हत्या गरेका हुन् । उनीसँग ठूलो रकम रहेको थाहा पाएपछि लुटपाट गर्ने योजना बनाएका साथीहरूले चलिरहेको सवारीसाधनको अगाडि धकेलेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

गत अक्टोबर २५ तारिख बिहान करिब साढे ३ बजे कासिपुर–हरिद्वार राजमार्गअन्तर्गत नजीबाबाद थाना क्षेत्रको सरनपुर गाउँनजिक एक व्यक्ति घाइते अवस्थामा फेला परेका थिए । दुर्घटनामा परेको आशङ्का गरिएको ती व्यक्तिलाई प्रहरीले तत्काल अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पोस्टमार्टम रिपोर्टमा टाउकोमा लागेको चोटका कारण अत्यधिक रक्तस्राव भएर मृत्यु भएको उल्लेख थियो ।
प्रहरीले अनुसन्धानका क्रममा मृतकको पहिचान नेपालको कालिकोट जिल्लाका अशोकबहादुर शाहीका रूपमा गरेको थियो । त्यसपछि उनको साथमा रहेको रकम तथा सामानबारे अनुसन्धान गर्दा करिब १ लाख ५५ हजार भारतीय रुपैयाँ र अन्य सामान घटनास्थलबाट हराएको पाइएको थियो ।
घटनापछि अक्टोबर २८ तारिख मृतकका छोरा अमित शाहीले नजीबाबाद प्रहरी थानामा उजुरी दिएका थिए । उजुरीमा उनका बुबा अक्टोबर २४ तारिख नजीबाबाद आएको र साथमा करिब १ लाख ५५ हजार भारतीय रुपैयाँसहित अन्य सामान रहेको उल्लेख थियो । रकम तथा सामान नभेटिएपछि परिवारले हत्या गरी लुटपाट गरिएको आशङ्का व्यक्त गरेको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा शेरबहादुर, कमलसिंह र करणबहादुर शाहीको संलग्नता खुलेपछि तीनै जनालाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ पर्ने शेरबहादुर उत्तराखण्डको नैनीताल जिल्लाका बासिन्दा हुन् भने कमलसिंह कैलाली र करणबहादुर शाही बाजुरा जिल्लाका नेपाली नागरिक रहेको विवरणमा उल्लेख छ ।
प्रहरीका अनुसार तीनै जना भारतको कोटद्वार क्षेत्रमा बस्दै आएका थिए । सोही क्रममा उनीहरूको अशोकबहादुरसँग चिनजान भएको थियो । उनीहरूले सुरुमा कोटद्वार र त्यसपछि नजीबाबादमा सँगै बसेर मदिरा सेवन गरेका थिए । मदिरा सेवनकै क्रममा अशोकबहादुरसँग ठूलो रकम रहेको थाहा पाएपछि उनीहरूले लुटपाटको योजना बनाएका थिए ।
योजनाअनुसार उनीहरूले अशोकबहादुरलाई चलिरहेको कारको अगाडि धकेलेका थिए । सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएपछि साथमा रहेको नगद तथा सामानसहितको झोला लिएर उनीहरू फरार भएका थिए । प्रहरीका अनुसार पक्राउ परेका आरोपितहरूले प्रारम्भिक सोधपुछमा घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।
लुटिएको १ लाख ५५ हजार भारतीय रुपैयाँमध्ये ५० हजार रुपैयाँ तीनै जनाले आपसमा बाँडेर आफ्नो घर पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि प्रहरीको खोजीबाट बच्न उनीहरू हिमाचल प्रदेशको मनाली पुगेका थिए । मृतकबाट लिएको करिब ३० हजार रुपैयाँ मनालीमै खर्च गरेको र बाँकी रकम झोलामा राखेको उनीहरूले बताएका छन् ।
प्रहरीले आरोपितहरूको साथबाट ७८ हजार ५२० भारतीय रुपैयाँ नगद बरामद गरेको छ । यसका साथै तीनवटा मोबाइल फोन, दुईवटा आधार कार्ड र मृतकको कालो रङको झोला पनि फेला परेको छ । झोलाभित्र ५५ हजार रुपैयाँसहित कालो बुट, हाफ निकर, कालो टोपी, नेपाली टोपी, कालो मास्क र कालो ज्याकेटलगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
गत मंगलबार प्रहरी लाइन सभागारमा आयोजित पत्रकार सम्मेलनमा बिजनौरका प्रहरी उपरीक्षक कृष्णकुमार विश्नोईले घटनाबारे जानकारी दिएका थिए । उनका अनुसार रकम लुट्ने उद्देश्यले आफ्नै साथीहरूले अशोकबहादुरलाई चलिरहेको सवारीसाधनको अगाडि धकेलेर हत्या गरेका थिए । घटनामा संलग्न तीनै जनालाई पक्राउ गरी ७८ हजार ५२० भारतीय रुपैयाँ बरामद गरिएको उनले बताए ।
घटनाको अनुसन्धान तथा आरोपितलाई पक्राउ गर्न सफल प्रहरी टोलीलाई पाँच हजार भारतीय रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको छ । प्रहरीले घटनासम्बन्धी थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

