आस्था /आध्यात्म

सेमरहवामा विशेष सत्संगको तयारी, देश–विदेशका भक्तजन रुपन्देहीमा जुट्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही, २३ कार्तिक । राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी विशेष सत्संग तथा प्रवचनका लागि रुपन्देही आउने भएका छन् । आगामी कात्तिक २४ गते रुपन्देहीको सेमरहवास्थित सत्संग परिसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी भारतबाट नेपाल आउन लागेका हुन् ।

आयोजकका अनुसार कार्यक्रममा नेपालसहित भारत तथा अन्य देशबाट २५ हजारदेखि ३० हजारसम्म भक्तजन तथा शुभचिन्तक सहभागी हुने अनुमान गरिएको छ । सत्संगमा सहभागी हुन देशभरका संगत तथा इच्छुक व्यक्तिका लागि खुला व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

कार्यक्रममा सहभागी हुन आउने भक्तजनका लागि खाना, बसोबास र यातायातको निःशुल्क व्यवस्था मिलाइएको छ । टाढाबाट आउने श्रद्धालुका लागि सत्संग परिसरमै बसोबास तथा भोजनको प्रबन्ध गरिएको छ भने आसपासका क्षेत्रबाट आउनेका लागि निःशुल्क यातायातको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD

सत्संगमा सहभागी हुन चाहनेहरूलाई कार्यक्रम हुने दिन बिहान ८ बजेभित्र परिसरमा प्रवेश गरिसक्न अनुरोध गरिएको छ । कार्यक्रमको व्यवस्थापन स्वयंसेवक सेवादारमार्फत गरिनेछ ।

आयोजकले सहभागी भक्तजनका लागि केही सुरक्षा तथा व्यवस्थापकीय निर्देशनसमेत जारी गरेको छ । बसोबास गर्ने गरी आउने महिला, बालबालिका र ज्येष्ठ नागरिक संरक्षकसहित आउनुपर्नेछ । महिला र पुरुषका लागि छुट्टाछुट्टै बसोबासको व्यवस्था गरिएको छ । दीर्घरोगीले नियमित प्रयोग गर्ने औषधि आफैँसँग ल्याउनुपर्नेछ भने बहुमूल्य गरगहना तथा धेरै धनमाल नल्याउन आग्रह गरिएको छ ।

मोबाइल फोन साथमा ल्याउनेले परिसरबाहिर रहेको स्वयंसेवकद्वारा सञ्चालित काउन्टरमा जम्मा गरी टोकन लिनुपर्ने व्यवस्था गरिएको छ । सत्संग सम्पन्न भएपछि सहभागी सबैका लागि शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

राधास्वामी सत्संग ब्यास नेपालले धार्मिक तथा आध्यात्मिक गतिविधिसँगै विपद्का समयमा मानवीय सेवाका कामसमेत गर्दै आएको छ । २०७२ सालको भूकम्पका बेला घाइते तथा घरबारविहीन परिवारलाई खाना र बसोबासको व्यवस्था गरेको संस्थाले सरकारसँगको सहकार्यमा भूकम्प प्रभावित जिल्लामा २७ वटा सामुदायिक भवन तथा विद्यालय निर्माण गरी हस्तान्तरण गरेको थियो ।

त्यसैगरी, कोभिड–१९ महामारीका बेला भारत तथा तेस्रो मुलुकबाट फर्किएका नेपाली नागरिकका लागि काठमाडौंको कीर्तिपुर र सामाखुसीस्थित सत्संग घरमा होल्डिङ सेन्टर तथा आइसोलेसन सेन्टर सञ्चालन गरी निःशुल्क उपचार, खाना र बसोबासको व्यवस्था गरेको थियो ।

संस्थाले विपद्का समयमा गरेको सामाजिक तथा मानवीय सेवाको कदर गर्दै नेपाली सेनाबाट प्रशंसा पदक र राष्ट्रपतिबाट कीर्तिमय राष्ट्रदीप पदक (चतुर्थ) प्रदान गरिएको थियो । हाल संस्थाले नेपालभरका १०६ वटा सत्संग स्थलमार्फत प्रत्येक शनिबार नियमित सत्संग तथा प्रवचन सञ्चालन गर्दै आएको छ ।

बिज्ञापन