आज धनतेरस, भोलिदेखि तिहारका मुख्य पर्व

काठमाडौं, २० कार्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज शुक्रबार धनतेरस पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरसमा सुन, चाँदी, तामा तथा अन्य धातुका भाँडाकुँडा किन्ने परम्परा छ ।
धनतेरसलाई धन, स्वास्थ्य र समृद्धिको प्रतीकका रूपमा लिइन्छ । यस दिन भगवान् धन्वन्तरीको पूजा आराधना गर्नुका साथै नयाँ सामग्री खरिद गर्दा घरमा सुख, शान्ति र समृद्धि भित्रिने धार्मिक विश्वास रहेको छ । विशेषगरी सुनचाँदीका गरगहना, तामा, पित्तल तथा भान्सामा प्रयोग हुने भाँडाकुँडा खरिद गर्ने चलन छ ।

धनतेरससँगै तिहारका मुख्य पर्व सुरु भएका छन् । यस वर्ष कात्तिक २१ गते काग तिहार, २२ गते कुकुर तिहार तथा लक्ष्मी पूजा र २५ गते भाइटीका परेको छ ।

तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्नुका साथै घरआँगन सजाउने, दीपावली गर्ने, देउसीभैलो खेल्ने र दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयता साटासाट गर्ने परम्परा छ ।
पाँच दिनसम्म मनाइने तिहारलाई उज्यालो, आपसी सद्भाव र पारिवारिक सम्बन्ध प्रगाढ बनाउने पर्वका रूपमा लिइन्छ ।

