बेलौरी महोत्सवमा स्थानीय कलाकारको उपेक्षा भएको भन्दै गायिका रानाको असन्तुष्टि

कञ्चनपुर, २० कार्तिक । बेलौरी महोत्सवमा स्थानीय राना थारु कलाकारलाई बेवास्ता गरिएको भन्दै गायिका लक्ष्मी रानाले आयोजकप्रति असन्तुष्टि जनाएकी छन् । उनले महोत्सव आयोजक बेलौरी उद्योग वाणिज्य संघका प्रतिनिधिसँग भएको टेलिफोन संवाद सार्वजनिक गर्दै स्थानीय कलाकारलाई अपमानजनक व्यवहार गरिएको आरोप लगाएकी हुन् ।
रानाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको अडियो संवादमा आयोजकका तर्फबाट प्राविधिक तथा व्यवस्थापकीय कमजोरी भएको स्वीकार गर्दै उनलाई महोत्सवमा सहभागी हुन आग्रह गरिएको सुनिन्छ । तर, रानाले भने बाहिरबाट आउने कलाकारलाई पहिल्यै समय व्यवस्थापन गर्ने र स्थानीय कलाकारलाई अन्तिम समयमा मात्र बोलाउने प्रवृत्तिप्रति आपत्ति जनाएकी छन् ।

स्थानीय कलाकारलाई आवश्यक सम्मान र प्राथमिकता नदिने तर महोत्सवको प्रचारमा उनीहरूकै नाम र पहिचान प्रयोग गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ छ । उनले आयोजकको कार्यक्रममा सहभागी हुन गरिएको आग्रहसमेत अस्वीकार गरेकी छन् ।

यसअघि पनि रानाले महोत्सवको प्रवेशद्वारमा आफ्नो मात्र तस्बिरसहितको पोस्टर राखेर सिंगो राना थारु समुदायको प्रतिनिधित्व गराइएको जस्तो देखाउन खोजिएको भन्दै आपत्ति जनाएकी थिइन् । उनले एउटा कलाकारको तस्बिर राख्दैमा समुदायको सहभागिता सुनिश्चित नहुने बताउँदै पोस्टर हटाउन चेतावनीसमेत दिएकी थिइन् ।
कलाकारलाई ठेकेदारले जसरी प्रयोग गर्न नपाइने र आफ्नो आत्मसम्मान सबैभन्दा ठूलो विषय भएको रानाको अडान छ ।
यस विषयमा महोत्सव आयोजक बेलौरी उद्योग वाणिज्य संघले भने हालसम्म आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

